भारतले नौ वर्षअघि नि:शुल्क उपलब्ध गराएको दक्षिण एसिया स्याटेलाइटको सञ्चार क्षमता उपयोग गर्न नेपालले फेरि भारतकै सहयोग लिन लागेको छ।
स्याटेलाइटको ३६ मेगाहर्ज क्षमता उपयोगका लागि आवश्यक एउटा मुख्य ग्राउन्ड स्टेसन र ३०० प्रयोगकर्ता टर्मिनल भारतको अनुदान सहयोगमा स्थापना हुने भएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था ९इसरो० बीच यो सम्बन्धी समझदारी भएको छ।
भारतले सन् २०१७ मे ५ मा दक्षिण एसिया स्याटेलाइट (जीस्याट-९) प्रक्षेपण गरेको थियो। त्यसबाट नेपालसहित सहभागी छिमेकी मुलुकलाई ३६ मेगाहर्ज क्षमताको एक-एक ट्रान्सपोन्डर नि:शुल्क उपलब्ध गराइएको थियो।
तर नेपालले आवश्यक पूर्वाधार बनाउन नसक्दा उपग्रहको क्षमता उपयोग गर्न सकेन। भारतले सन् २०२३ जुन मै नेपाललाई एउटा मुख्य ग्राउन्ड स्टेसन र ३०० प्रयोगकर्ता टर्मिनल अनुदानमा उपलब्ध गराउने प्रस्ताव गरेको थियो।
तर नेपाल सरकारले गत भदौमा भारतको उक्त वस्तुगत सहायता स्वीकार गर्ने निर्णय गरेको थियो। त्यसपछि अहिले औपचारिक समझदारी भएको हो। यो नयाँ उपग्रह निर्माण वा प्रक्षेपण गर्ने सम्झौता होइन।
भारतले यसअघि नै उपलब्ध गराएको उपग्रहबाट नेपालमा सञ्चार सेवा विस्तार गर्ने योजना हो।
ग्राउन्ड स्टेसन उपग्रहसँग सञ्चार संकेत आदानप्रदान गर्ने मुख्य केन्द्र हो। प्रयोगकर्ता टर्मिनल भने त्यससँग जोडिएर दुर्गम क्षेत्रमा सञ्चार सेवा उपलब्ध गराउने उपकरण हुन्। यी पूर्वाधारबाट दूरशिक्षा, टेलिमेडिसिन, सरकारी सञ्चार तथा विपद् व्यवस्थापनमा सेवा विस्तार गर्न सकिनेछ।
नेपालसँगै उपग्रहको सुविधा पाएको भुटानले भने सन् २०१९ अगस्टमै थिम्पुमा ग्राउन्ड स्टेसन स्थापना गरेको थियो। भारतीय सहयोगमा निर्मित उक्त केन्द्रबाट भुटानले सरकारी टेलिभिजन र रेडियो प्रसारणको पहुँच विस्तार गर्यो। दुर्गम क्षेत्रमा सञ्चार सम्पर्क र विपद् व्यवस्थापनका लागि समेत उपग्रहको उपयोग अघि बढायो।
भुटानले सन् २०२४ मा भारतबाट थप १६ मेगाहर्ज उपग्रह क्षमता पनि प्राप्त गर्यो। यससँगै भुटानलाई उपलब्ध सञ्चार क्षमता ५२ मेगाहर्ज पुगेको छ। नेपालले भने सुरुमा पाएको ३६ मेगाहर्ज क्षमता अझै उपयोग गर्न सकेको छैन।
इसरोका अनुसार जीस्याट(९ को डिजाइन आयु १२ वर्ष हो। सन् २०१७ मा प्रक्षेपण भएको उपग्रहको निर्धारित डिजाइन आयु सन् २०२९ मेमा पूरा हुनेछ। यद्यपि प्राविधिक अवस्था अनुकूल भएमा उपग्रह त्यसभन्दा बढी समय सञ्चालन हुन सक्छ।
नयाँ समझदारीअनुसार ग्राउन्ड स्टेसन र टर्मिनल कहिलेसम्म स्थापना हुने र उपग्रहको डिजाइन आयु पूरा भएपछि सेवा कसरी निरन्तर रहने भन्ने विस्तृत कार्ययोजना सार्वजनिक भएको छैन।
भुटानले यही उपग्रहबाट सात वर्षदेखि सेवा विस्तार गरिरहँदा नेपालमा बल्ल पूर्वाधार स्थापनाको समझदारी भएको छ।
