नवनियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा कप्तानको जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) लाई दिएका छन्।
कप्तानको नाम सार्वजनिक गर्न नाटकीय शैली अपनाइएको छ। खेल सुरु हुनु करिब एक घण्टा अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको प्लेइङ ११ मा रेनुका नगरकोटेलाई कप्तान तोकिएको थियो।
तर यसको एक घण्टा बित्न नपाउँदै कप्तानको आर्म ब्यान्ड साम्बलाई दिइएको छ। यस विषयमा एन्फाका सिइओइन्द्र मान तुलाधरले बारम्बार प्रशिक्षकसँग ताकेता गरेपनि एन्फालाई कप्तानको जानकारी नआएको नीति 365लाई बताए ।
साम्बा नेपाली महिला फुटबल टोलीकी ११औं कप्तान हुन्। पहिलो कप्तान रमा सिंह हुन्। उनले नेपालले सन् १९८६ खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलमा कप्तानको जिम्मेवारीमा थिइन्।
१९९० मा कमला हिराचन र सन् १९९९ मा मिरा चौधरी नेपाली महिला टोलीका कप्तान बनेका थिए। त्यसपछि नेपाली फुटबलले एक दशक नै अन्तराष्ट्रिय प्रतियोगिता खेलेन ।
२०१० मा नेपालले फेरि अन्तराष्ट्रिय सहभागिता जनाउन सुरु गर्यो। २०१० देखि २०१२ सम्म जमुना गुरुङलाई कप्तान रहिन् ।
२०१३ मा चन्द्रा भण्डारी, २०१४ देखि २०१६ सम्म अनु लामा तथा २०१७ मा सजना राना मगर र रेनुका नगरकोटे टोलीको कप्तानको जिम्मेवारी पाएका थिए।
त्यस्तै २०१८ मा निरु थापा र त्यसपछि २०१९ देखि एन्जिला तुम्बाप्पो सुब्बा कप्तानको जिम्मेवारीमा रहँदै आएकी थिइन्। साम्बाले कुनै पनि तहमा पहिलो पटक कप्तानको जिम्मेवारी पाएकी हुन् ।
लाओस विरुद्ध नेपाली टोलीको प्लेइङ ११
अन्जना राना मगर (गोलकिपर) , निशा थोकर, गिता राना , समिक्षा घिमिरे, सरु लिम्बू, सरस्वती हमाल, रेनुका नगरकोटे , सविता राना मगर, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र सावित्रा भण्डारी ‘साम्बा’ (कप्तान)