भारतीय कम्पनी सतलज जलविद्युत् निगम लिमिटेड (एसजेभिएन)ले नेपालमा निर्माण गरिरहेको नौ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतको बजार सुनिश्चित गरेको छ ।
एसजेभिएनले अरुण–३ बाट उत्पादन हुने विद्युत् आपूर्तिका लागि भारतको उत्तर प्रदेश विद्युत् निगम लिमिटेडसँग सम्झौता गरेको हो । एसजेभिएन र युपिपिसिएलबिच अरुण–३ बाट उत्पादन हुने विद्युत् खरिद–बिक्री सम्बन्धमा मंगलबार सम्झौता गरेको छ । एसजेभिएनले बुधबार विज्ञप्ति जारी गर्दै युपिपिसिएलसँग ऊर्जा व्यापार सम्झौता (पिसिएल) गरेको जनाएको छ । सम्झौतामा एसजिभिएनका प्रमुख महाप्रबन्धक (पावर ट्रेडिङ) आरके गुप्ता र युपिपिसिएलका कर्पोरेट योजना निर्देशक दीपक रायजादाले हस्ताक्षर गरेका छन् ।
एसजिभिएनको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एसजिभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालिले संखुवासभामा नौ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्यामसाइटको काम भइरहेको छ भने चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवा पावरहाउस निर्माणको काम भइरहेको छ । परियोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । हाल तीव्र गतिमा काम भइरहेको यो आयोजना सन् २०२७/२८ सम्ममा सञ्चालनमा आउने लक्ष्य राखिएको छ ।
एक खर्ब ४४ अर्बको लागतमा बन्ने अरुण तेस्रो जलविद्युत् आयोजना नेपालको सबैभन्दा ठुलो जलविद्युत् आयोजना हो । परियोजना सम्पन्न भएको २५ वर्षपछि नेपाललाई हस्तान्तरण गर्ने पिडिएफमा उल्लेख छ ।