नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले श्रम र उत्पादनमा वाइसिएल अभियान शुरु गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत अभियानको औपचारिक उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वाइसिएलले नीतिगत निर्णयमार्फत राष्ट्रियरूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ । त्यसैअनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि म वाइसिएललाई धन्यवाद दिन चाहन्छु ।”
प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान पनि गर्नुभएको छ । संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, “यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ ।”
कार्यक्रममा माओवादी केन्द्रका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने वाइसिएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ । सोक्रममा अध्यक्ष प्रचण्डले इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्नेजस्ता काममा युवा स्वयंसेवकहरूसँग श्रम सहकार्य समेत गरेको बताइएको छ ।