पोल्याण्डका प्रोग्रामर प्रजेमिस्लाभ सर्वोकृष्ट

पोल्याण्डका प्रोग्रामर प्रजेमिस्लाभ “साइहो” डेबियाकले एटकोडर वर्ल्ड फाइनल्स ह्युरिस्टिक प्रतियोगितामा ओपनएआईको कस्टम–बिल्ट कृत्रिम बुद्धिमत्तालाई पराजित गरेका छन्।

टोक्योमा भएको विश्वको सबैभन्दा कठिन कोडिङ इभेन्टहरू मध्ये एक मानिएको यसमा उनले धेरैले असम्भव ठानेको काम गरेको बताइएको छ।

१० घण्टासम्म चलेको उक्त टकरावमा पोलिश प्रोग्रामर “साइहो” डेबियाक ओपनएआईको कोडिङ एजेन्टलाई हराउने एक मात्र सफल व्यक्ति बनेका छन्।

प्रतियोगितामा सम्भव भएसम्म ३०×३० ग्रिडमा भर्चुअल रोबोटहरूलाई सबैभन्दा प्रभावकारी तरिकाले मार्गदर्शन गर्नुपर्ने चुनौती पेश गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

यो प्रतियोगिता छिटो लेख्ने बारेमा नभइ यो एनपी–हार्ड अप्टिमाइजेसन समस्या समाधान गर्ने बारेमा भएको र जहाँ कुनै उत्तम उत्तरहरू उपलब्ध नभएको र केवल राम्रो समाधानहरूले मात्र काम गर्ने उल्लेख गरिएको छ।

प्रतियोगितामा ओपनएआईको एआई एजेन्टले लगभग सबैलाई प्रभुत्व जमाएको र समग्रमा दोस्रो स्थानमा आएको उल्लेख गरिएको छ। साथै यसले विश्वका दस उत्कृष्ट प्रोग्रामरहरूलाई पनि हराएको थियो।

तर साइहोले भने पूर्ण रूपमा फरक रणनीति आपनाएको र यसको बारेमा एआईले अनुमान गर्न सकेको थिएन। उनले गहिरो अनुभव, रचनात्मकता र समस्या समाधान गर्ने प्रवृत्तिमा भर पर्दै केवल कच्चा सीपहरूका साथ कुनै पनि एआई उपकरणहरू बिना कोडिङ गरेका बताइएको छ।

तर ओपनएआईको कोडिङ एजेन्टलाई हराउनकोलागि मूल्य चुकाउनु परेको उल्लेख गरिएको छ। साइहोले धेरै दिनसम्म धेरै कार्यक्रमहरूमा प्रतिस्पर्धा गरेको हुनाले उनी राम्रोसँग सुत्न नपाएको उल्लेख गरिएको छ।

“मानवताले विजय हासिल गरेको छ ९अहिलेको लागि०। म पूर्ण रूपमा थाकेको छु। म मुश्किलले जीवित छु” भनि लामो म्याराथन पछि उनले पोस्ट गरेका छन्।।

ओपनएआईको मोडेल उच्च–स्तरीय, प्रत्यक्ष प्रतिस्पर्धामा मानव सहयोग बिना दोस्रो स्थानमा आएको हुनाले ओपनएआईले नतिजालाई एआईको लागि कोसेढुङ्गा भएको बताएको छ।

ओपनएआईले यस उपलब्धिलाई एआईतको कदम अब एक कदम अघि बढ्न सफल भएको बताएका छन् जसले तर्क गर्न, योजना बनाउन र मानिस जस्तै दोहोर्याउन सक्नेछ भनि टेलीग्राफले रिपोर्ट गरेको छ।