संयुक्त राष्ट्र ECOSOC अध्यक्षमा नेपाल, ‘डेलिभरिङ बेटर’ मुख्य मन्त्र

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्षमा नेपाल निर्वाचित भएको छ। बिहीबार सम्पन्न निर्वाचनपछि नेपालले यो महत्वपूर्ण अन्तर्राष्ट्रिय जिम्मेवारी सम्हालेको हो।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाले निर्वाचनलाई नेपालको बहुपक्षीय प्रणालीप्रतिको दृढ प्रतिबद्धताको ऐतिहासिक क्षणको रूपमा वर्णन गरे।

राजदूत थापाले आफ्नो अध्यक्षताको मूल मन्त्र “Delivering Better” अर्थात “अझ प्रभावकारी कार्यान्वयन” रहने जनाए। उनका अनुसार, सन् २०१५ मा स्वीकृत २०३० विकास एजेन्डा जस्ता पहलहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न साझेदारी र बहुपक्षीयता सुदृढ गर्नु अत्यावश्यक छ।

उनले भने, “डेलिभरिङ बेटर अब विकल्प होइन, यो आवश्यकता हो। यसमार्फत् मात्र हामी बहुपक्षीयताप्रतिको विश्वास पुनःस्थापना गर्न, विभेद हटाउन, सबैभन्दा कमजोर वर्गलाई सशक्त बनाउन र प्रतिबद्धतालाई कार्यमा रूपान्तरण गर्न सक्छौं।”

यसै बैठकमा आगामी एक वर्षका लागि उपाध्यक्षमा अल्जेरियाका अमार बेन्जामा, स्पेनका हेक्तर गोमेज हेर्नान्डेज, डोमिनिकन गणराज्यका वेलिङ्टन डारियो बेन्कोस्मे कास्टानोस र आर्मेनियाका पारुयर होभहानिस्यान पनि निर्वाचित भएका छन्।

नेपालको ECOSOC अध्यक्ष पदमा निर्वाचनले देशको कूटनीतिक उचाइ, अन्तर्राष्ट्रिय विश्वसनीयता र दिगो विकास लक्ष्यप्रतिको योगदानलाई विश्वमञ्चमा थप उजागर गराएको विश्लेषण गरिएको छ।

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार