काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको देखिए पनि समग्र वित्तीय आधार भने सुदृढ रहेको संकेत देखिएको छ।
समीक्षा अवधिमा बैंकले ६४ करोड ३३ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ९० करोड ७४ हजार रुपैयाँ नाफा कमाएको थियो। यसरी नाफा २८.५३ प्रतिशतले घटेको देखिन्छ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। चालु वर्षको नौ महिनामा प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ३ रुपैयाँ ९७ पैसा कायम भएको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २७.०१ प्रतिशतले घटेको छ। चालु वर्षमा यस्तो आम्दानी १ अर्ब ८ करोड १२ लाख ६९ हजार रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ४८ करोड १८ लाख ८३ हजार रुपैयाँ थियो।
त्यस्तै, सञ्चालन मुनाफा पनि घटेको छ। समीक्षा अवधिसम्म सञ्चालन मुनाफा २८.४३ प्रतिशतले घटेर ९२ करोड २४ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब २८ करोड ५७ लाख ३ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।
बैंकको इम्पेरमेन्ट चार्ज (रिभर्सल) चालु वर्षको चैत मसान्तसम्म २ करोड २६ लाख ६१ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा २ करोड ८१ लाख ३० हजार रुपैयाँ थियो।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ पुगेको छ। हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने ३ अर्ब ४२ करोड ५ लाख ३ हजार रुपैयाँ सञ्चित रहेको छ।
निक्षेप तथा कर्जा विस्तारतर्फ हेर्दा, बैंकले तेस्रो त्रैमासको अन्त्यसम्म ७ अर्ब ८० करोड ३० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २८ अर्ब ५४ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।
समग्रमा, नाफामा केही गिरावट देखिए पनि बैंकको पूँजी आधार, लगानी विस्तार र वितरणयोग्य मुनाफाले आगामी दिनमा सुधारको सम्भावना देखाएको विश्लेषण गरिएको छ।
