लायन्स माउण्टेनसिटीमा नयाँ नेतृत्व, सेवा अभियान थप सशक्त हुने

पोखरा । लायन्स क्लब अफ पोखरा माउण्टेनसिटी को वर्ष २०२६/२७ का लागि अध्यक्षमा पदम श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन्। पोखरास्थित होटल दिपसागर मा सम्पन्न वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष पदम श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको साथ र सहयोग आवश्यक रहने उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरेका छन्। उनले क्लबमार्फत सामाजिक सेवा, मानव कल्याण तथा समुदाय विकासका कार्यक्रमहरूलाई अझ प्रभावकारी र उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा क्लबका संस्थापक अध्यक्ष एवं इन्टरनेशनल एडभाइजर डोलराज पोखरेल ले ‘आफ्नो लागि सबैले गर्छन्, अरूका लागि केही गरौँ’ भन्ने मूल भावनासहित क्लब स्थापना भएको स्मरण गराए। उनले क्लबले हालसम्म निर्वाह गरेको सामाजिक भूमिकाको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

साधारण सभाबाट चयन भएका अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्षमा लायन कृष्ण प्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा लायन नेपाल प्रकाश अधिकारी र तृतीय उपाध्यक्षमा लायन कल्याण तिमिल्सिना रहेका छन्। त्यसैगरी सचिवमा लायन शिवप्रसाद रिमाल, सह–सचिवमा लायन सुर्यप्रसाद पोखरेल र कोषाध्यक्षमा लायन कुलप्रसाद अधिकारी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

कार्यक्रममा पूर्व अध्यक्षहरू लायन कृष्णराज पराजुली, मोहदत्त भुषाल, नरेश सुवेदी र शक्ति बराललगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै आफ्ना धारणा राखेका थिए।

वर्तमान अध्यक्ष लायन विष्णु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डिस्ट्रिक्ट जोन चियरपर्सन लायन नरेश सुवेदीले गरेका थिए। नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी योजना अघि सार्ने लक्ष्य लिएको जनाएको छ।