काठमाडौं । हर्मुज जलमार्ग पुनः खुला गर्ने इरान को घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ। विश्वभर २० प्रतिशतभन्दा बढी इन्धन आपूर्ति हुने यस जलमार्ग खुल्ने संकेतले आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिब्यारेल ९८ डलर रहेको कच्चा तेलको मूल्य शनिबार घटेर ८८ डलरमा झरेको थियो। यो गिरावट आइतबार पनि जारी रहँदै प्रतिब्यारेल ८४ डलरसम्म पुगेको छ।
तेलको मूल्यमा आएको यस गिरावटले विश्वभर इन्धनको भाउ घट्ने र आपूर्ति प्रणाली थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी आयातमा निर्भर मुलुकहरूका लागि यसले सकारात्मक प्रभाव पार्ने देखिएको छ।
नेपालको सन्दर्भमा पनि इन्धनको मूल्य दक्षिण एसियामै महँगो मानिन्छ। विश्व बजारमा कच्चा तेलको मूल्य घटेकाले नेपालमा पनि इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको छ।
