दिक्तेलमा प्रविधि उत्सव, इभीप्रति आकर्षण बढ्दै

दिक्तेल, खोटाङ । एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोबाइल ब्रान्ड ओमोडा, जेकुआइकार ले ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान गण प्रदर्शनी – २०८३’ मा सहभागिता जनाएका छन्।

हिमालय माध्यमिक विद्यालय सोल्मा द्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा शुभम् फाउन्डेसन सँगको सहकार्यमा वैशाख ३ देखि ७ गतेसम्म आयोजना गरिएको उक्त प्रदर्शनीले विज्ञान र प्रविधिप्रति चासो बढाउने लक्ष्य राखेको छ।

प्रदर्शनीमा सहभागी यी ब्रान्डहरूले नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै विद्यार्थी, युवा तथा विज्ञानप्रेमीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेका छन्। विशेषगरी विद्युतीय सवारी (ईभी) सम्बन्धी अत्याधुनिक प्रविधिको प्रदर्शनमार्फत स्वच्छ, स्मार्ट र दिगो यातायातबारे जनचेतना फैलाउने उद्देश्य रहेको छ।

प्रदर्शनी अवलोकनकर्ताहरूले ईभी प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै भविष्यको यातायात प्रणालीबारे जानकारी हासिल गर्न सक्ने व्यवस्था गरिएको छ। प्रदर्शनीमा अत्याधुनिक सवारीसाधन आइकारको प्रत्यक्ष अवलोकन भइरहेको एसपीजी अटोमोबाइल्स विराटनगर शाखाका सिनियर सेल्स म्यानेजर धिरेन्द्र प्रधान ले बताए। उनका अनुसार दिक्तेलमा पहिलो पटक आइकारको डिस्प्ले गराउँदा स्थानीय तथा काठमाडौंबाट आएका गाडी पारखीहरू आकर्षित भएका छन्।

नेपालमा ५० लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको यस स्पोर्टी सवारी अफरोडमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने उनले जानकारी दिए।

ग्राहकहरूको दीर्घकालीन विश्वासलाई ध्यानमा राख्दै यी ब्रान्डहरूले ११ वर्षसम्मको विस्तारित वारेन्टी सुविधा पनि प्रस्तुत गरेका छन्। यसअन्तर्गत ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्म (जुन पहिले हुन्छ) र मोटरमा ११ वर्ष वा २ लाख किलोमिटरसम्म (जुन पहिले हुन्छ) वारेन्टी उपलब्ध गराइएको छ। यसलाई नेपालकै ईभी बजारमा नयाँ मापदण्डका रूपमा हेरिएको छ।

हाल देशभर १८ भन्दा बढी बिक्री केन्द्र र १५ वटा सेवा केन्द्रमार्फत द्रुत गतिमा विस्तार भइरहेको बिक्री तथा चार्जिङ पूर्वाधार नेटवर्कले ओमोडा, जेकु र आइकारको उपस्थितिलाई अझ सुदृढ बनाउँदै लगेको कम्पनीले जनाएको छ।