सन लाइफ इन्स्योरेन्सले अभिकर्ता सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, प्रोत्साहन तथा सीप विकासका उद्देश्यले ‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ शीर्षकमा एक दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ।

बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न शाखाबाट आएका अभिकर्ताहरूलाई एकै स्थानमा भेला गरी सीप विकास, उत्प्रेरणा तथा नेटवर्किङको अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झा ले प्रशिक्षण सत्र सञ्चालन गरेका थिए। उनले बिक्री सीप, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुने रणनीतिबारे विस्तृत प्रशिक्षण दिएका थिए।

कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी लगायत क्षेत्रीय तथा शाखा व्यवस्थापन टोली, इन्स्योरेन्स एडभाइजर, एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा एमडिआरटी एचिभरहरूको उपस्थिति रहेको थियो।

निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरूलाई कम्पनीको मेरुदण्डका रूपमा उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै दीर्घकालीन सफलताको आधार हुने बताए। त्यस्तै प्रमुख बजार अधिकृत गणेश चौलागाईले निरन्तर सिकाइ, अनुशासन र ग्राहकप्रति जिम्मेवार दृष्टिकोण अपनाउन आग्रह गर्दै यस्ता कार्यक्रमले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो। साथै सहभागीहरूबीच अनुभव आदानप्रदानको अवसर पनि प्रदान गरिएको थियो।

कम्पनीले यस्ता कार्यक्रमहरू मार्फत अभिकर्ता सशक्तिकरणसँगै बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।