एशियन थाई फुड्सको व्यापारमा द्रुत विस्तार

काठमाडौँ । नेपालमा दुई दशकभन्दा बढी समयदेखि प्रीति, रमपम र २ पि एम जस्ता लोकप्रिय चाउचाउ ब्रान्ड उत्पादन गर्दै आएको एशियन थाई फुड्स लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो व्यापार उल्लेख्य रूपमा विस्तार गरेको छ। सन् १९९९ मा निजी कम्पनीका रूपमा स्थापना भएको यो उद्योग सन् २०२५ जुनदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो।

चाउचाउसँगै कम्पनीले कुरमकुरा, क्रेजी, मामा ब्रान्डका विभिन्न खाजा तथा गुडलाइफ पेय पदार्थ उत्पादन गर्दै आएको छ। कम्पनीको व्यापारिक प्रगतिलाई हेर्दा आर्थिक वर्ष २०२२ मा ४ अर्ब २ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२३ मा ४ अर्ब ७३ करोड ६० लाख र २०२४ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँ पुर्‍याएको थियो।

यो वृद्धि क्रम आर्थिक वर्ष २०२५ मा झन् बढ्दै ५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामै कम्पनीले ३ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ, जसले यसको बजार विस्तारको गति अझ सशक्त देखाउँछ।

उद्योगले आफ्नो बजार विस्तारका लागि भौगोलिक तथा उत्पादन विविधीकरणमा ठूलो लगानी गरेको छ। सुनसरीको सोनावपुरस्थित पहिलो कारखानापछि कम्पनीले सन् २०२५ मेदेखि पश्चिम नेपालको तौलिहवामा दोस्रो उत्पादन इकाई सञ्चालनमा ल्याएको छ।

कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्दै इक्रा नेपालले हालै साख मूल्याङ्कन सार्वजनिक गरेको छ। ४४ करोड १० लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘एल त्रिपल बी प्लस’ रेटिङ प्रदान गरिएको छ भने १ अर्ब ५४ करोड ५० लाख रुपैयाँको अल्पकालीन ऋणमा ‘ए टु’ रेटिङलाई निरन्तरता दिइएको छ।

नयाँ कारखाना विस्तारका कारण कम्पनीको ऋण–पूँजी अनुपात सन् २०२४ जुलाईमा ०.७ गुणाबाट बढेर सन् २०२६ जनवरीसम्म २.९ गुणा पुगेको छ। यद्यपि, कम्पनीले थप लगानी भित्र्याउने र साधारण शेयर निष्कासन गर्ने योजनामार्फत पूँजी संरचना सुधार गर्ने लक्ष्य लिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीको नाफामा प्रभाव पारेको देखिन्छ। विशेषगरी गहुँको पिठो र पाम तेलको मूल्य वृद्धिका कारण आर्थिक वर्ष २०२५ मा सञ्चालन नाफा २.९ प्रतिशतमा सीमित भएको थियो। तर, सन् २०२६ को पहिलो छ महिनामा भने यो सुधारिँदै ८.१ प्रतिशत पुगेको छ।

नेपालका प्रतिष्ठित व्यावसायिक घराना शारडा र जाजु समूहद्वारा प्रवर्द्धित यस कम्पनीमा आनन्द जाजुको २५ प्रतिशत र महेश कुमार जाजुको करिब २४ प्रतिशत शेयर स्वामित्व रहेको छ। साथै, श्रीनिवास शारडा, शिवरतन शारडा, राधेश्याम शारडा र पवन कुमार शारडाको पनि १० देखि ११ प्रतिशत हाराहारीमा शेयर हिस्सा रहेको छ।