दुधकोशीमा नयाँ जलविद्युत् आयोजना सुरु हुँदै

काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाट क्षमताको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा फैलिने गरी प्रस्ताव गरिएको यस आयोजनाको विद्युतगृह गापा–४ स्थित काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट करिब ७३० मिटर माथि रहनेछ।

आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा वार्षिक ६१७.८६ गिगावाट घण्टा विद्युत् आपूर्ति हुने अनुमान गरिएको छ। निर्माण अवधिमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी पाउनेछन्।

विद्युत् विकास विभागले आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माण गर्न सहमति प्रदान गरिसकेको छ। इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले प्रवर्द्धन गर्ने उक्त आयोजना सुरुमा नदी प्रवाही स्वरूपमा अघि बढाइएको भए पनि हाल अर्धजलाशययुक्त ढाँचामा रूपान्तरण गरिएको हो। यस परिवर्तनसँगै पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढाइएको छ। वन तथा वातावरण मन्त्रालयले सो प्रतिवेदनका लागि आवश्यक सुझाव उपलब्ध गराउन सरोकारवालासँग आग्रह गरेको छ।

आयोजनाको प्राविधिक विवरणअनुसार ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहनेछ। संरचना निर्माणका लागि करिब २५.२८ हेक्टर सामुदायिक वन क्षेत्र प्रयोग गर्नुपर्नेछ, जहाँबाट २ हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो र जामुखलगायतका रुख काट्नुपर्नेछ।

उत्पादित विद्युत् दोलखाको देवीटारस्थित नयाँ खिम्ती सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। आयोजनाको कुल लागत करिब १९ अर्ब ११ करोड रुपैयाँ रहनेछ भने प्रतिमेगावाट लागत झन्डै २० करोड रुपैयाँ अनुमान गरिएको छ।

प्रवर्द्धक कम्पनीले यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।