कच्चा तेल बजारमा तीव्र उतारचढाव

काठमाडौं । सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अमेरिकाले इरानी मालबाहक जहाज कब्जा गरेपछि अमेरिका–इरानबीचको तनाव पुनः चर्किन सक्ने आशंकाका कारण तेल बजारमा उछाल आएको हो।

जीएमटी समय अनुसार बिहान ०४:१८ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य ५.०८ डलर अर्थात् ५.६२ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.४६ डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य ५.०१ डलर अर्थात् ५.९७ प्रतिशतले बढेर प्रति ब्यारेल ८८.८६ डलर पुगेको छ।

यसअघि शुक्रबार तेलको मूल्यमा करिब ९ प्रतिशतको गिरावट आएको थियो, जुन अप्रिल १८ पछिको सबैभन्दा ठूलो दैनिक गिरावट मानिएको थियो। त्यसबेला इरानले स्ट्रेट अफ हर्मुज खुला राख्ने घोषणा गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मार्ग बन्द नहुने संकेत गरेपछि बजारमा गिरावट आएको थियो।

तर पछिल्ला घटनाक्रमले स्थिति फेरि अस्थिर बनाएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले ट्याङ्करहरूमाथि गोली प्रहार गरेपछि जहाज सञ्चालकहरूमा त्रास बढेको छ। दैनिक करिब १० देखि ११ मिलियन ब्यारेल कच्चा तेल ओसारपसार हुने स्ट्रेट अफ हर्मुजमा अवरोधको जोखिमले बजार थप प्रभावित भएको छ।

अमेरिकाले आइतबार इरानी नाकाबन्दी तोड्न खोजिएको आरोपमा एक मालबाहक जहाज कब्जा गरेको जनाएको छ। यसको प्रतिक्रियामा इरानले पनि प्रतिकार गर्ने चेतावनी दिएको छ, जसले दुई देशबीच तनाव पुनः बढ्ने चिन्ता उत्पन्न गरेको छ।

त्यसैगरी, इरानले अमेरिकासँग हुने दोस्रो चरणको वार्तामा सहभागी नहुने घोषणा गरेको छ, जसले कूटनीतिक समाधानको सम्भावना थप कमजोर बनाएको छ।

अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ भने इरानले स्ट्रेट अफ हर्मुजमा आंशिक नियन्त्रण कायम राख्दै आएको छ। युद्धअघि विश्वको करिब पाँच भागको एक भाग तेल यही जलमार्गबाट आपूर्ति हुने गरेको थियो।

यद्यपि तनावबीच पनि शनिबार तेल, तरल पेट्रोलियम ग्यास, धातु र मल बोकेका २० भन्दा बढी जहाजहरूले स्ट्रेट अफ हर्मुज पार गरेको जनाइएको छ।