लिग २ मा आज ओमानसँग ७० रनले नेपाल हार्यो

नेपालमा लिग २ खेल्न आएको ओमानको टोलीले नेपाल ए सँगको अभ्यास एकदिवसीय खेल जितेको छ ।

आज बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमान ७० रनले विजयी भयो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ए २१० रनमा अलआउट भयो ।

ब्याटिङका लागि राम्रो मानिएको पिचमा नेपाल ए को टोलीले राम्रो सुरुवात गरेपनि मध्यक्रम र तल्लोक्रम ब्याटिङ चल्न नसक्दा नेपाल पराजित भयो ।

खेलअघि टसमा ओमानका कप्तान जतिन्दर सिंह र नेपाल ए का कप्तान अनिल साह दुवैले पिच ब्याटिङका लागि राम्रो भएको उल्लेख गर्दै पिचमा राम्रो स्कोर बन्न सक्ने बताएका थिए ।

जतिन्दरले २५० भन्दा माथिको योगफल बनाए सहज हुने बताएका थिए । यस्तै स्पीन डोमिनेटिङ पिच हुने बताएका थिए । ओमानले बलियो योगफल खडा गर्दा नेपाल ए को टोलीले भने लक्ष्य पूरा गर्न सकेन ।

‘ओमानका लागि लिग २ को तयारी भएपनि नेपालका लागि यो खेल तयारीभन्दा ठूलो छ, लिग २ का लागि मेन्टालिटी सेटको कुरा पनि हुन्छ’ अनिलले टसमा भनेका थिए ।

यो खेल अभ्यास एकदिवसीय थियो, अर्थात् टिमका १४ जना सदस्यले नै आफ्नो रोल अनुसार खेल्न पाइने प्रावधान रहेको थियो । त्यसअनुसार नेपालले ब्याटिङमा सबै ब्याटर र बलिङमा सबै बलर प्रयोग गर्न पाउने थियो, प्लेइङ ११ बनाएर खेल्नुपर्ने बाध्यकारी थिएन ।

त्यसैअनुसार नेपाल ए मा पीएम कपका शानदार प्रदर्शन गरेका खेलाडीहरू समावेश गर्दै टोली तयार गरेको थियो । तर ब्याटिङ कोल्याप्स हुँदा नेपाल पराजित हुन पुग्यो ।

वास्तवमा भन्ने हो भने टस जितेर ब्याटिङ रोजेको ओमानले राम्रो सुरुवात गरेको थियो । कप्तान जतिन्दर सिंह र आशिष ओडेरा मिलेर ७९ रनको साझेदारी गरेका थिए ।

जतिन्दर ५८ रन बनाएर आउट भए भने आशिष २७ रनमा आउट भए । त्यसपछि हम्माद मिर्जा ५ रनमै आउट भएपछि ओमान ९४(३ को अवस्थामा पुगेको थियो ।

त्यहाँ नेपाली बलरलाई पुनरागमनको मौका बनेको थियो तर त्यसपछि मुजिबुर अली र हाशिर दाफेदार मिलेर शानदार साझेदारी गरे । मुजिबुरले ७२ अनि दाफेदारले ४६ रन बनाउँदा ओमानले चौथो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए ।

त्यसपछि विनायक शुक्लाले २५ तथा जितेन रामानन्दीले १७ रन बनाएर योगफल २८० सम्म पुर्‍याउन मद्दत गरे । नेपालले मिडल ओभरमा विकेट लिन नसक्नु पनि हारको एउटा कारण बन्यो ।

अनिलले सुरुमा ३०० रन भन्दा माथि कट्ने डर भएपनि पछि २८० रनमै रोक्दा समग्र टिम खुसी रहेको समेत अनिलले उल्लेख गरे ।