हवाई क्षेत्रमा सहकार्यको चुनौती

काठमाडौँ । अमेरिका, इजरायल र इरानबीचको युद्ध ५४औँ दिनमा प्रवेश गर्दा विश्वको उड्डयन क्षेत्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ। युद्धका कारण विमान इन्धनको आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकहरू इन्धन अभाव र लागत वृद्धिसँग जुधिरहेका छन्।

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार एसियाली मुलुकहरूले विमान इन्धन निर्यातमा प्रतिबन्ध लगाउन थालेपछि विश्वव्यापी उडान सञ्चालनमा थप कठिनाइ आएको छ। विश्वको करिब २० प्रतिशत विमान इन्धन ढुवानी हुने हर्मुज जलसन्धि बन्दजस्तै भएपछि आपूर्ति प्रणाली प्रभावित भएको हो।

केप्लर ऊर्जा परामर्शदाता संस्थाका अनुसार युरोपतर्फ जाने इन्धनको ठूलो हिस्सा यही मार्ग हुँदै जाने भएकाले त्यहाँका एयरलाइन्सहरू सबैभन्दा बढी प्रभावित भएका छन्। कुवेत र बहराइनजस्ता प्रमुख निर्यातकहरूको उत्पादन पनि बजारसम्म पुग्न सकेको छैन।

यसैबीच, इन्धन अभाव र मूल्य वृद्धिका कारण एशियाली र युरोपेली एयरलाइन्सहरूले उडान कटौती गर्न थालेका छन्। क्याथे प्यासिफिकले १५ प्रतिशत, सिङ्गापुर एयरलाइन्सले ७ प्रतिशत, लुफ्थान्साले १२ प्रतिशत, ब्रिटिस एयरवेजले १० प्रतिशत र एयर फ्रान्स–केएलएम समूहले ८ प्रतिशत उडान घटाउने निर्णय गरेका छन्।

डोयचे बैंकको विश्लेषण अनुसार इन्धन अभावका कारण केही अन्तर्राष्ट्रिय रुटमा हवाई भाडा ७४ प्रतिशतसम्म बढेको छ। यसले सस्तो टिकट बजारबाट हराउँदै गएको र यात्रुहरूलाई थप आर्थिक बोझ परेको देखिएको छ।

सस्तो सेवा दिने विमान कम्पनीहरू समेत संकटमा परेका छन्। अमेरिकी स्पिरिट एयरलाइन्सले बढ्दो खर्चका कारण कम्पनी नै सञ्चालन जोखिममा रहेको चेतावनी दिएको छ। फिच रेटिङ्सका अनुसार साना कम्पनीहरू बजारबाट बाहिरिए प्रतिस्पर्धा घट्ने र भाडा अझै बढ्ने जोखिम रहेको छ।

यद्यपि अमेरिका तेल उत्पादनमा आत्मनिर्भर भए पनि विश्व बजारमा इन्धनको मूल्य वृद्धि हुँदा ठूला कम्पनीहरूले समेत ठूलो आर्थिक भार वहन गर्नुपरेको छ।

विशेषज्ञहरूका अनुसार युद्ध तत्काल अन्त्य भए पनि हवाई क्षेत्र पूर्ण रूपमा सामान्य अवस्थामा फर्कन कम्तीमा एक वर्ष लाग्ने देखिन्छ। आपूर्ति प्रणाली पुनःस्थापना र पूर्वाधार मर्मतमा समय लाग्ने भएकाले यात्रुहरूले अझै केही समय महँगो भाडा र उडान अनिश्चितता सामना गर्नुपर्ने अनुमान गरिएको छ।

हाल विमान कम्पनीहरूले घाटा न्यूनीकरण गर्न कम नाफामूलक रुटहरू बन्द गर्न थालेका छन्, जसले विश्वव्यापी हवाई सम्पर्क र आवागमनमा असर पारिरहेको छ।