काठमाडौँमा वायु सुधारका लागि सचेतना आवश्यक

काठमाडौँ । नेपालको राजधानी काठमाडौँ बिहीबार पुनः विश्वका अत्यधिक प्रदूषित सहरहरूको सूचीमा दोस्रो स्थानमा पुगेको छ। वायु गुणस्तर मापन सूचकाङ्क (एक्यूआई) २१६ पुगेपछि काठमाडौँको हावा ‘अति अस्वस्थकर’ श्रेणीमा पुगेको छ।

अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’ का अनुसार हाल लाहोर (पाकिस्तान) ३८२ एक्यूआईसहित पहिलो स्थानमा रहेको छ। त्यसपछि काठमाडौँ दोस्रो, थाइल्याण्डको चियाङ माई १६५ एक्यूआईसहित तेस्रो स्थानमा छ। चीनको बेइजिङ र इन्डोनेसियाको जकार्ता समान १३७ एक्यूआईसहित क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन्।

त्यस्तै, अल्जेरियाको अल्जियर्स, बंगलादेशको ढाका, भारतको कोलकाता र दिल्ली तथा इथियोपियाको अदिस अबाबा पनि विश्वका प्रदूषित सहरहरूको सूचीमा परेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार २०१ देखि ३०० एक्यूआईलाई ‘अति अस्वस्थकर’ र ३०० भन्दा माथिलाई ‘घातक’ स्तर मानिन्छ।

वातावरण विभागका अनुसार काठमाडौँ उपत्यकासँगै भक्तपुर, दाङको देउखुरी र सुर्खेत क्षेत्रमा पनि वायु प्रदूषणको स्तर उच्च रहेको छ। धुलो र धुवाँका कण बढेकाले सर्वसाधारणलाई बाहिर निस्कँदा सावधानी अपनाउन र मास्क प्रयोग गर्न आग्रह गरिएको छ।

जनस्वास्थ्य विज्ञहरूले विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीलाई अनावश्यक रूपमा बाहिर ननिस्कन सुझाव दिएका छन्। साथै, वायु प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन योजनासहित सचेतना र व्यवस्थापन आवश्यक रहेको बताइएको छ।