काठमाडाैं। डोनाल्ड ट्रम्प ले इरानसँग जारी तनावका बीच पाकिस्तानमार्फत हुने भनिएको कूटनीतिक पहलमा नयाँ मोड ल्याएका छन्। उनले पाकिस्तानमा हुने आफ्ना दुई दूतको प्रस्तावित भ्रमण रद्द गरेका छन्।
इरानले प्रस्तुत गरेको पछिल्लो शान्ति प्रस्ताव पर्याप्त नभएको निष्कर्ष निकाल्दै ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नर को इस्लामावाद भ्रमण स्थगित गरेका हुन्।
फ्लोरिडामा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले इस्लामावादमा हुने वार्ताबाट अपेक्षित नतिजा नआउने संकेत देखिएकाले अनावश्यक यात्रा र खर्च टारिएको बताए। वासिङ्टन फर्कनुअघि उनले इरानले केही सुधारसहित प्रस्ताव अघि सारे पनि त्यो अझै सन्तोषजनक नभएको स्पष्ट पारे।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले इरानी नेतृत्वभित्र आन्तरिक असमझदारी रहेको दाबी गर्दै अमेरिका वार्ताका लागि बलियो स्थितिमा रहेको उल्लेख गरेका छन्।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराक्ची पाकिस्तान भ्रमण सकेर फर्किएका छन्। उनले शहबाज सरिफ लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गरे पनि कुनै ठोस सहमति हुन सकेन। उनले भ्रमणलाई सकारात्मक भने पनि ठोस उपलब्धि हासिल नभएको संकेत दिएका छन्।
उता, इरानी राष्ट्रपति मसुद पेजेस्कियान ले अमेरिकासँगको वार्तामा स्पष्ट सर्त अघि सारेका छन्। उनले धम्की वा नाकाबन्दीको दबाबमा वार्ता स्वीकार नगर्ने भन्दै अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको अवरोध हटाउनुपर्ने अडान दोहोर्याएका छन्।
हाल वासिङ्टन र तेहरान बीच गम्भीर गतिरोध कायम छ। इरानले विश्वको ऊर्जा आपूर्तिमा महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मोज लगभग बन्द गरेको छ भने अमेरिकाले इरानको तेल निर्यातमा पूर्ण रोक लगाएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायल द्वारा इरानमाथि गरिएको हवाई आक्रमणपछि सुरु भएको तनावले विश्वव्यापी ऊर्जा मूल्य र मुद्रास्फीति बढाएको छ। यसले विश्व अर्थतन्त्रको वृद्धिदरमा समेत नकारात्मक असर पार्ने संकेत देखिएको छ।
यता, शान्ति वार्ता अनिश्चित भइरहँदा बेन्जामिन नेतन्याहु ले आफ्ना सेनालाई लेबनानमा रहेका हिजबुल्लाह लक्षित आक्रमण तीव्र बनाउन निर्देशन दिएका छन्। यसले पछिल्ला तीन हप्तादेखि कायम युद्धविरामलाई थप जोखिममा पारेको छ।
इस्लामावादस्थित इरानी कूटनीतिक स्रोतहरूका अनुसार इरानले अमेरिकाका कडा सर्तहरू कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट अडान लिएको छ।
