न्यु डायमण्ड पिएम कप लिगको फाइनलमा

न्यु डायमण्ड युथ स्पोर्टस क्लब लगातार चौथो जित निकाल्दै दसौं पिएम कप एनभिए लिगमा महिलातर्फको फाइनलमा पुगेको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी लिगको छैंटौं दिन मंगलवार न्यु डायमण्डले एपिएफलाई ३-१ ले हराएसँगै अन्तिम दुईको यात्रा तय गरेको छ। न्यु डायमण्ड २५-२१,२०-२५,२५-१८,२५-२१ ले विजयी भएको हो।‌

अन्तिम खेलअघि नै न्यु डायमण्ड उपाधि भिडन्त पक्का गरेको हो। लिगको अन्तिम खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

आजै भएको महिलातर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीको यो पहिलो जित हो।

आर्मीले सुदूरपश्चिम प्रदेश भलिबल क्लबलाई २५-१५,२५-१०,२५-५ को सोझो सेटमा हराएको हो।

नेपाल भलिबल संघको आयोजनामा बैशाख १९ गते सम्म चल्ने प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।