भक्तपुर । नेपालमा डिजिटल वित्तीय सेवाको तीव्र विस्तारसँगै अनलाइन ठगी र पहिचान चोरीका घटनाहरू बढ्दै गएको सन्दर्भमा कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी साजिया (SAGEA) ले ‘हेलिओस’ नामक नयाँ केवाईसी (KYC) प्रणाली विकास गरिरहेको छ।
डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन ऋण सेवाहरू विस्तार हुँदै जाँदा परम्परागत केवाईसी प्रणालीहरू कमजोर बिन्दुका रूपमा देखिन थालेका छन्। हाल प्रयोग भइरहेका फोटो मिलान वा साधारण भिडियो प्रमाणीकरण प्रणालीहरू डीपफेक, पूर्व-रेकर्डेड भिडियोको दुरुपयोग तथा अत्यन्त वास्तविक देखिने कागजात नक्कलीकरण जस्ता चुनौतीसँग जुध्न असफल भइरहेका छन्।
साजियाका प्रमुख कार्यकारी अधिकृत बसब झाका अनुसार नेपालमा डिजिटल अर्थतन्त्र तीव्र गतिमा बढिरहेको भए पनि पहिचान प्रमाणीकरण प्रणाली समयअनुसार अपडेट हुन सकेको छैन। यही समस्या समाधान गर्न हेलिओस विकास गरिएको उनले बताए।
हेलिओस एक बहु-सेवा केवाईसी प्रमाणीकरण इन्जिन हो, जसले बायोमेट्रिक प्रमाणीकरण, वास्तविक समय भिडियो विश्लेषण, राष्ट्रिय परिचयपत्र तथा पासपोर्ट जस्ता कागजातको स्वतः प्रमाणीकरण र उच्च क्षमताको डाटा प्रोसेसिङ प्रणाली एकीकृत रूपमा प्रदान गर्छ।
कम्पनीका अनुसार परम्परागत केवाईसी प्रक्रियामा १ देखि २ घण्टा लाग्ने काम हेलिओसले १५ सेकेन्डभित्र सम्पन्न गर्न सक्ने क्षमता राख्छ।
यो प्रणालीले प्रयोगकर्ताबाट छोटो सेल्फी भिडियो लिई विभिन्न तहमा जाँच गर्छ। पहिलो चरणमा शंकास्पद अनुरोध फिल्टर गर्ने ‘रिस्क प्री–स्क्रिनिङ’ हुन्छ भने त्यसपछि सक्रिय तथा निष्क्रिय ‘लाइभनेस डिटेक्सन’ मार्फत वास्तविक व्यक्ति हो वा होइन भन्ने पुष्टि गरिन्छ।
त्यस्तै, अप्टिकल क्यारेक्टर रिकग्निसन (OCR) प्रविधिमार्फत नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र र ड्राइभिङ लाइसेन्सका विवरण स्क्यान गरी नक्कली वा परिमार्जित कागजात पहिचान गरिन्छ। अन्त्यमा सबै तहका नतिजा संयोजन गरी पास, फेल वा म्यानुअल रिभ्युको निर्णय दिइन्छ।
हेलिओसको प्रमुख विशेषता भनेको ‘अन–प्रिमाइस डिप्लोयमेन्ट’ हो, जसले बैंक तथा वित्तीय संस्थालाई आफ्नै सर्भरमा प्रणाली सञ्चालन गर्न अनुमति दिन्छ। यसले नेपाल राष्ट्र बैंकका डेटा लोकलाइजेशन सम्बन्धी मापदण्ड पूरा गर्ने, संवेदनशील डेटा देशभित्रै सुरक्षित राख्ने तथा डेटा चुहावटको जोखिम घटाउने बताइएको छ।
साजियाका अनुसार हेलिओसलाई नेपाली डाटा सेटमा आधारित भएर प्रशिक्षित गरिएको छ, जसले नेपाली नागरिकताको ढाँचा तथा विविध अनुहार पहिचानमा उच्च शुद्धता प्रदान गर्छ। कम्पनीका अनुसार यसको OCR प्रणालीले ९५ प्रतिशतभन्दा बढी शुद्धता र डीपफेक पहिचान क्षमतामा ९० प्रतिशतभन्दा बढी सफलता दर हासिल गरेको छ।
नेपालमा डिजिटल केवाईसी सम्बन्धी नियामक दबाब बढ्दै गएको अवस्थामा हेलिओस जस्ता स्वदेशी प्रविधिले वित्तीय क्षेत्रको सुरक्षा र दक्षता सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सफल कार्यान्वयन भएमा यो प्रणाली नेपालकै डिजिटल वित्तीय संरचनाको महत्वपूर्ण आधार बन्न सक्ने बताइएको छ।
