किओच बाल अस्पताल ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण छ : सुशीला कार्की

काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको किओच बाल अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल निर्माणप्रति खुसी व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै उनले अस्पतालको स्थापनाले बालबालिका तथा गरिब विपन्न वर्गलाई निस्वार्थ रूपमा सेवा पाउने अवसर सृजना गरेको उल्लेख गरिन् । उनले यो संस्था भारतको ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै, यसको निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू र जगद्गुरु शंकराचार्यको उपस्थिति र आशीर्वादले संस्थालाई थप बलियो र अटल बनाएको विचार व्यक्त गरिन् ।

उनले भनिन्, हाम्रो निम्ति त भारतमा ताजमहल बनेजस्तै संस्था बन्यो । साह्रै खुसी लागेको छ । सबैभन्दा ठूलो कुरा भनेको बालबालिका, गरिब सबैले एउटा निस्वार्थ रूपमा सेवा पाउने भए । नयाँ संस्थाको प्रादुर्भाव भएको छ । संस्थाको जन्म प्रतिष्ठित व्यक्तित्व मीनबहादुर गुरुङज्यू र उहाँको धर्मपत्नीको तनमन धनबाट, लगनशीलताबाट बन्यो । साथै जगद्गुरु शंकराचार्यबाट उद्घाटन हुनु खुशीको कुरा हो ।’

कार्यक्रममा व्यवसायी मीनबहादुर गुरुङले सन्त महात्माहरूको दर्शन, आशीर्वचन र उपदेशले आफूलाई समाज सेवाको सत्कर्ममा लाग्न प्रेरणा मिलेको बताए । उनले भविष्यमा पनि लोककल्याणकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशन गुरुङले व्यक्तिगत ७१ करोडमा उक्त अस्पताल भवन निर्माण गरिदिएका हुन् । सो अवसरमा अस्पतालको साँचो अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरिएको थियो ।

भारतका जगद्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम्ले अस्पतालको नवनिर्मित भवन साँचो हस्तान्तरण गरेका हुन् ।

अवसरमा उनले विद्या, चिकित्सा र दानले नै पुन्य कमाइने भएकाले त्यसले नै मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने धारणा राखे । उनले हरेक व्यक्तिलाई भगवानले केही न केही दिएको बताउँदै पैसाले मात्रै पनि केही नहुने हुँदा पुन्य कामका लागि खर्च गर्न तयार हुनुपर्ने बताए ।