काठमाडौं । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासका क्षेत्रमा संयुक्त राज्य अमेरिकाले निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेकी छन्।
काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’लाई सम्बोधन गर्दै उनले नेपाल र अमेरिकाबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध केवल राजनीतिक र आर्थिक साझेदारीमा सीमित नभई पर्वतारोहण र साहसिक यात्राको साझा इतिहासले समेत बलियो बनाएको बताइन्।
अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै उपविदेशमन्त्री रोजर्सले अमेरिकी नागरिकको साहस, खोज र नवीनताको भावना नेपाली पर्वतारोहणको समृद्ध विरासतसँग मिल्दोजुल्दो रहेको धारणा व्यक्त गरिन्। उनका अनुसार चुनौतीलाई अवसरमा बदल्ने र नयाँ सम्भावनाको खोजी गर्ने संस्कारले दुई देशलाई अझ नजिक ल्याएको छ।
उनले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गरिन्। उक्त सफलताले सगरमाथाको शिखरमा अमेरिकी उपस्थिति स्थापित गर्नुका साथै नेपाल–अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाएको उनको भनाइ थियो।
रोजर्सका अनुसार सगरमाथाप्रतिको अमेरिकी आकर्षण अझै कायम छ। यस वर्ष मात्र ६७ जना अमेरिकी नागरिकले सगरमाथा आरोहणको प्रयास गरेका छन्, जसले नेपालको पर्वतीय पर्यटनप्रतिको उनीहरूको निरन्तर रुचि झल्काउने बताइन्।
नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले सन् २०२३ मा नेपाल भ्रमण गर्ने कुल ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी नागरिक रहेको जानकारी दिइन्। यससँगै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजारका रूपमा स्थापित भएको उनले बताइन्।
उनले अमेरिकी पर्यटकहरूको आगमनले नेपाली पर्यटन उद्योगलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्दै पथप्रदर्शक, होटल व्यवसायी, ट्रेकिङ कम्पनी तथा स्थानीय समुदायको आयआर्जन र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुगेको बताइन्।
शिखर सम्मेलनमा बोल्दै उपविदेशमन्त्री रोजर्सले आधुनिक पर्वतारोहण केवल हिमाल आरोहणमा मात्र सीमित नरहेको धारणा राखिन्। उनले प्रविधि, सुरक्षा प्रणाली, नवप्रवर्तन र दिगोपनाको अवधारणाले पर्वतीय पर्यटनको स्वरूप परिवर्तन गरिरहेको बताउँदै यी क्षेत्रमा नेपाल र अमेरिकाबीच सहकार्यका थप अवसर रहेको उल्लेख गरिन्।
उनले साहसिक पर्यटन, प्रविधि विकास र नवप्रवर्तनका क्षेत्रमा साझेदारी विस्तार गर्दै नेपाललाई विश्व पर्यटन नक्सामा अझ सशक्त रूपमा स्थापित गर्न अमेरिका सहयोगका लागि प्रतिबद्ध रहेको पुनः स्पष्ट पारिन्।
