टप इन्ड सिरिजः कुशलको संघर्ष खेर-नेपाल, सेमिफाइनल दौडबाट बाहिर

अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजको सेमिफाइनल दौडबाट नेपाल बाहिरिएको छ ।

प्रतियोगितामा आज तेस्रो हार व्यहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो । आजको म्याचमा नेपाल हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो ।

गार्डन्स ओभलमा भएको २०औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको किङ्समेनले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपाल १६६ रनमा रोकियो ।

हैदराबादका सेहान जयसुर्याले ४४ बलमा ४ चौका र ५ छक्का सहित ६७ रनको महत्वपूर्ण योगदान दिए । हम्मद आजमले ११ बलमा २६ रन ९नटआउट० र शयान जहाँगीरले २७ रन जोडे ।

नेपालका लागि नारायण जोशीले २ विकेट लिए भने राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।

१९८ रनको ठूलो लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपाल १९.२ ओभरमा नै अलआउट भई १६६ रनमा सीमित रह्यो ।

नेपालका ओपनर कुशल भुर्तेलले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाएका थिए । उनले ४६ बलमा ६ चौका र ४ छक्का सहित ६६ रनको उत्कृष्ट इनिङ्स खेले ।

यस्तै लोकेश बमले २३ बलमा ३८ रन जोडेर नेपाको झिनो आशा जगाएका थिए । तर अन्य ब्याट्सम्यानले ठोस योगदान दिन सकेनन् ।

किङ्समेनका स्कट कुग्गेलेइन र उसामा मिरले ३–३ विकेट लिए भने अली शेखले २ विकेट लिए ।

यो हारसँगै नेपाल ५ खेलमा २ जित र ३ हारसहित ४ अंकमा रहेको छ र नेट रन रेट पनि नकारात्मक ९–१।०२६० छ । यसअघि नेपालले नर्दन टेरिटरी स्ट्राइक र बंगलादेश हाई परफर्मेन्स ह्क्ष् सँग हारेको थियो ।

होबर्ट हरिकेन्स एकेडेमी र अष्ट्रेलियन क्यापिटल टेरिटरीविरुद्ध जित हासिल गरेको थियो ।

सिरिजमा अहिले भिक्टोरिया सीए XI शीर्ष स्थानमा छ भने अन्य टोलीहरू सेमिफाइनलको दौडमा अगाडि छन् ।

नेपालको अर्को खेल भिक्टोरिया सीए XI  सँग हुनेछ तर सेमिफाइनल पुग्ने सम्भावना रहेन ।