ग्यासको मूल्य बढ्यो-प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा

  • Clock icon
    २०८३ भाद्र १९, शुक्रबार

कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले मिलेमतोमा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन् ।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

भदौ १८ मा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

कृष्णभिरमा पहिरो गएका कारण वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा महँगो पर्न गएकाले त्यसको केही भार उपभोक्ताले तिर्नुपर्ने गरी निर्णय गरिएको संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

आयल निगमले पनि उद्योगबाट ५० किलोमिटरको दुरीसम्ममात्र मूल्य निर्धारण गर्न सकिने भएकाले सो क्षेत्रभन्दा माथिको मूल्य व्यवसायीले निर्धारण गर्न पाउने उल्लेख गरेको छ ।