जेनजी शहीद नै चिन्न नसकेको सरकार र परिवारमा परेको चोट

jenji salik genz

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी पुस्ताका युवा वा आन्दोलनकारीको सम्झनामा बनाइएको सालिकले उनीहरूका अभिभावकमा एउटा आशा जगाएको थियो । सायद सालिकमा आफ्ना सन्तानको अनुहार देख्न पाइएला, सायद उनीहरूको सम्झना केही हदसम्म आँखैअगाडि जीवित रहला । तर त्यही सालिक हेरेपछि अभिभावकको बाँकी रहेको आशा पनि निराशामा परिणत भएको छ । सालिक मृतक जेनजीको प्रतिविम्ब बन्नुपर्ने थियो, उनीहरूको पहिचान र स्मृतिको प्रतीक बन्नुपर्ने थियो । तर सालिकमै अनुहार नमिलेपछि पीडित परिवारका लागि यो एउटा मूर्ति रहेन, फेरि एकपटक आफ्ना सन्तान गुमाएको पीडा सम्झाउने माध्यम बनेको छ ।

सालिक उद्घाटनका लागि सांसद, मृतकका अभिभावक तथा अन्य सरोकारवाला पुगेका थिए । तर सालिकमा जेनजीका मृतक आन्दोलनकारी एवम जेनजीका अनुहार नै नमिलेको देखिएपछि उद्घाटन समेत रोक्नुपर्ने अवस्था आयो । यो सामान्य प्राविधिक त्रुटि मात्र होइन, मृतक परिवारको भावनासँग जोडिएको गम्भीर विषय हो । जसको सम्झनामा सालिक बनाइँदै थियो, उनीहरूकै अनुहार पहिचान गर्न नसकिने अवस्थामा सालिक निर्माणको प्रक्रिया कसरी अघि बढ्यो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । निर्माणका क्रममा कसले डिजाइन हे¥यो, कसले अनुगमन ग¥यो र अन्तिम स्वीकृति कसले दियो भन्ने विषयमा अब गम्भीर छानबिन आवश्यक देखिन्छ ।

यही विषयलाई लिएर विपक्षी तथा विभिन्न पक्षबाट सरकारको आलोचना भइरहेको छ । जेनजी आन्दोलनबाट आएको भनिएको सरकारले जेनजीकै मृतकलाई समेत चिन्न नसकेको टिप्पणी हुन थालेको छ । कतिपयले यसलाई मृतकप्रतिको संवेदनामाथि खेलबाडसमेत भनेका छन् । आन्दोलनमा कलिला मुनाहरू निमोठिएका थिए । उनीहरूको बलिदान परिवर्तनको प्रतीक थियो । तर उनीहरूको सम्झनामा बनाइएको सालिक हेर्दा बूढो रुखको छायामा एउटा सानो बिरुवाको सम्झना गराउन खोजिएजस्तो देखिनु विडम्बना बनेको छ । स्मृतिका लागि बनाइएको प्रतीक नै मृतकको वास्तविक पहिचानसँग मेल नखानु परिवारका लागि थप पीडादायी विषय हो ।

यसमा अर्को गम्भीर प्रश्न सरकारी बजेट र अनुगमनको हो । सालिक निर्माणका लागि राज्यले बजेट छुट्याएको छ भने त्यो रकम कहाँ र कसरी खर्च भयो ? निर्माणको गुणस्तर र कलात्मक पक्षबारे अनुगमन भयो कि भएन ? सम्बन्धित निकायले निर्माणाधीन सालिक हेरेनन् कि हेरेर पनि बेवास्ता गरे ? यस्ता प्रश्नको जवाफ सरकारले दिनुपर्छ । सार्वजनिक बजेटबाट निर्माण भएको स्मारक भएकाले यसको खर्च, निर्माण प्रक्रिया, कलाकार छनोट र अनुगमन सबै कुरा पारदर्शी हुनुपर्छ । मृतकको सम्झनामा बनाइएको संरचनालाई ‘काम चलाऊ’ शैलीमा निर्माण गर्ने छुट कसैलाई हुनु हुँदैन ।

नेपालको इतिहासमा कला र शिल्पको उत्कृष्टता देखाउने थुप्रै सालिक छन् । भीमसेन थापा, पृथ्वीनारायण शाहलगायत ऐतिहासिक व्यक्तित्वका सालिकहरूमा व्यक्तिको स्वरूप, पहिचान र व्यक्तित्व झल्काउने प्रयास गरिएको पाइन्छ । त्यसैले आजको पुस्तामा त्यस्तो कला र दक्षता कति बाँकी छ भन्ने प्रश्न पनि यो घटनाले उठाएको छ । सालिक ढुंगा, धातु वा माटोको संरचना होइन; त्यो इतिहास, भावना र पहिचानको दृश्य दस्तावेज हो । विशेषगरी मृतक बालबालिकाको स्मृतिमा बनाइने सालिकमा कलाकारको सीपसँगै संवेदनशीलता पनि उत्तिकै आवश्यक हुन्छ ।

त्यसैले सरकारले यो घटनालाई सामान्य गल्ती भनेर पन्छाउनु हुँदैन । सालिक किन नमिल्यो, कसले बनायो, कस्तो आधारमा स्वीकृत भयो र निर्माणका क्रममा अनुगमन किन भएन भन्ने विषयमा गहिरो अध्ययन र छानबिन हुनुपर्छ । मृतक परिवारको भावनालाई सम्मान गर्दै आवश्यक परे सालिक पुनर्निर्माण गर्नुपर्छ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका कलिला जीवनहरू कुनै राजनीतिक नाराका पात्र मात्र होइनन्, उनीहरू कसैका सन्तान थिए, कसैका सपना थिए । उनीहरूको सम्झनामा बनाइएको सालिकले उनीहरूलाई चिनाउन सक्नुपर्छ । यदि स्मारक नै पहिचानविहीन भयो भने त्यसले इतिहास सम्झाउने होइन, राज्यको लापरबाहीको स्मारक बन्नेछ ।