सूर्य नेपाल लाइफको नवौँ वर्षमा सुदूरपश्चिममा सय कार्यक्रम

काठमाडौं । सूर्य नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेशमा बीमा सचेतना तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

प्रदेशका १६ वटा शाखा कार्यालयमार्फत कम्पनीले करिब १०० वटा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो। कम्पनीले बीमा सचेतनासँगै समुदायमा सामाजिक सेवा तथा सहयोगका कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।

विभिन्न समुदायमा बीमा सचेतना

कम्पनीले बीमाको महत्व र उपयोगिताबारे जानकारी गराउने उद्देश्यले विद्यार्थी, शिक्षक, होटलमा कार्यरत कर्मचारी, सहकारीका कर्मचारी, महिला समूह तथा स्थानीय प्रतिनिधिलाई सहभागी गराएर अन्तरक्रियात्मक बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो।

यस्ता कार्यक्रममार्फत जीवन बीमाको आवश्यकता, वित्तीय सुरक्षामा यसको भूमिका तथा बीमा सेवाको उपयोगिताबारे जानकारी दिइएको कम्पनीले जनाएको छ।

विद्यालय र स्वास्थ्य संस्थालाई सहयोग

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समुदायमा सहयोगसमेत गरेको छ।

कम्पनीले विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको छ। त्यस्तै, स्वास्थ्य संस्थामा उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यका लागि आवश्यक प्रकाश उपकरण उपलब्ध गराइएको छ।

बैतडी जिल्लाका दुई वटा विद्यालयलाई पानीका ट्याङ्कीसमेत सहयोग गरिएको कम्पनीले जनाएको छ।

रक्तदानबाट ७१ युनिट रगत संकलन

कम्पनीले असोज ६ गते लम्की, धनगढी र महेन्द्रनगर शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा कुल ७१ युनिट रगत संकलन भएको जनाइएको छ।

कम्पनीले वार्षिकोत्सवलाई केवल संस्थागत उत्सवका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर समुदायमा प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो।

१६ शाखामा वार्षिकोत्सव

सूर्य नेपाल लाइफले सुदूरपश्चिम प्रदेशमा रहेका आफ्ना १६ वटा कार्यालयमा असोज ६ गते नवौँ वार्षिकोत्सव मनाएको थियो। कार्यक्रममा कम्पनीका अभिकर्ता, व्यवस्थापन तथा कर्मचारीको सहभागितामा केक काटेर वार्षिकोत्सव मनाइएको थियो।

घरबाटै बीमा खरिद गर्न सकिने डिजिटल योजना

कम्पनीले वार्षिकोत्सवकै अवसरमा दुई वटा नयाँ डिजिटल बीमा योजना समेत सार्वजनिक गरेको छ। नयाँ योजनामार्फत ग्राहकले घरबाटै विद्युतीय माध्यमबाट बीमा पोलिसी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

डिजिटल माध्यमबाट बीमा सेवा विस्तार गर्दै ग्राहकलाई सहज रूपमा बीमा पहुँच उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ।

हाल सूर्य नेपाल लाइफ इन्स्योरेन्सले देशभर १३६ वटा शाखा कार्यालयमार्फत जीवन बीमा सेवा तथा उत्पादन उपलब्ध गराउँदै आएको छ।