भोटेकोसी नदीमा भदौ १० मा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति भई ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट टुटेपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ।
बाढीले त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने विद्युत् बन्द भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानका लागि गृहकार्य अगाडि बढाएको हो।
भोटेकोसी बाढीका कारण त्रिशूली करिडोरबाट आउने विद्युत् अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ। मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणका लागि छलफल गरेको छ।
विद्युत् प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माण कार्य अगाडि बढाएको छ।
कतिपय ठाउँमा भूमिगत वैकल्पिक विद्युत् ग्रिडको विश्वसनीयताका लागि र थप भूमिगत ग्रिड निर्माण गर्न सडक विभाग र काठमाडौँ महानगरपालिकासँग निश्चित तालिकासहित हिउँदको विद्युत् व्यवस्थापनका लागि सहकार्य लागि छलफल गरिएको छ ।
छलफलमा सडक विभागका काठमाडौँ डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माण विभागका तर्फबाट आश्यक सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए।
काठमाडौँ महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले पनि फुटपातभित्र भूमिगत तार व्यवस्थापन गर्दै आवश्यक सहकार्य गर्ने बताए।
विद्युत प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौँ उपत्यकाभित्र गरिरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे माग व्यवस्थापनको आवश्यकताबमोजिम सघन सहकार्य गर्ने दाबी गरे ।
