राष्ट्रपति रामचन्द्र पौडेलले सेन्ट जेभियर्स स्कुल, जावलाखेलको वार्षिकोत्सव समारोहको उद्घाटन गरेका छन् ।
सेन्ट जेभियर्स स्कुलले आज शनिबार ७५औँ वार्षिकोत्सव मनाएको छ ।
सोही अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति उपस्थित भएका हुन् ।
‘शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन । शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो । त्यही भएर शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने ।
उनले नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएकाले हामीले दिने शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।
समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन चाहिँ आवश्यक रहेको उनको भनाइ थियो ।
