राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकार नढल्ने दाबी गर्दै आफूहरूले व्यक्तिलाई नभई इतिहास बदल्ने उद्देश्यसहित सरकार गठन गरेको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले पटक–पटक सरकार ढल्ने चर्चा हुने गरे पनि यसपटक त्यस्तो नहुने दाबी गरे । उनले सरकार ढल्ने हल्लाबीच सरकार नढलेको देखेर हल्ला गर्नेहरू नै बेहोस भएर ढल्ने अवस्था आउने टिप्पणी गरे ।
‘कहिलेकाहीँ सुनिन्छ– सरकार कमजोर भयो, सरकार ढल्छ । दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, ढल्छ त ढल्छ भनेर सुनेका छौं,’ लामिछानेले भने, ‘तर, यसपटक सरकार ढल्छ कि ढल्छ भनेको मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ । सरकार ढल्दैन, बिल्कुल ढल्दैन ।’
उनले वर्तमान सरकार गठनको उद्देश्य कुनै व्यक्तिलाई सत्तामा पुर्याउनु नभई इतिहास बदल्ने रहेको दाबी गरे ।
‘किनकि हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौं । इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासाथ सरकार बनाएका छौं,’ उनले भने ।
लामिछानेले कांग्रेसको सबैभन्दा ठूलो शक्ति नै उसको इतिहास भएको बताए । तर त्यही इतिहास कांग्रेसको सबैभन्दा ठूलो कमजोरी पनि बनेको उनको टिप्पणी थियो ।
उनले कांग्रेसले विगतमा पार्टीको निष्ठा, दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिक र युवालाई उचित स्थान दिएको भए आफू पनि कांग्रेस बन्न सक्ने बताए ।
‘नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति नै तपाईंहरूको इतिहास हो । सँगसँगै सबैभन्दा ठूलो कमजोरी पनि त्यही इतिहास नै हो,’ लामिछानेले भने ।
कांग्रेसले पार्टीको निष्ठालाई पुँजीका रूपमा महत्त्व दिएको भए आफू कांग्रेस हुन सक्ने उनको भनाइ थियो ।
‘म पनि कांग्रेस हुन्थें होला, यदि बेलामै कांग्रेसले पार्टीको निष्ठालाई पुँजी मानेर महत्त्व दिएको भए,’ उनले भने, ‘दुर्गम, दूरदराजका, पिछडिएको क्षेत्रका मान्छेलाई समानुपातिक तरिकाले टिकट वितरण गरेको भए पनि म कांग्रेस हुन्थें होला ।’
कांग्रेसले युवालाई अझै चाँडै नेतृत्वमा ल्याएको भए आफू त्यसबाट प्रेरित हुने उनको भनाइ थियो ।
‘५० वर्षमा आज युवाले पार्टीको सभापति पाएको छ । तर, ४० वर्षमै पार्टीले युवालाई सभापति बनाएको भए म पनि प्रेरित भएर कांग्रेस हुन्थें होला,’ लामिछानेले भने ।
आफ्नो निर्वाचन चिह्न छाडेर अरू पार्टीको चुनाव चिह्नमा मतदान गर्न आग्रह नगरिएको भए पनि आफू कांग्रेस हुन सक्ने उनको टिप्पणी थियो ।
‘आफ्नो लहलहाउँदो रूख चिह्नलाई छाडेर अरूको पार्टीको चुनाव चिह्नमा भोट हाल नभनेको भए म पनि कांग्रेस हुन्थें होला,’ उनले भने ।
लामिछानेले लोकतन्त्रको रक्षाका नाममा अनावश्यक रूपमा खतरा देखाएर त्यसको ठेक्कापट्टा नलिन पनि राजनीतिक दलहरूलाई आग्रह गरे ।
‘लोकतन्त्रको रक्षाको सवालमा पनि म भन्छु, लोकतन्त्रको यति पनि दुहाइ नदिनुस्, त्यसको ठेक्कापट्टा पनि नलिनुस्,’ उनले भने ।
लोकतन्त्रमाथि खतरा नरहेको र खतरा आइपरे जनताले नै त्यसको रक्षा गर्ने उनको दाबी थियो । तर, विधि स्थापना गर्ने नाममा मूल्य र मान्यता तोड्दै जाने हो भने देश संकटमा पर्ने उनले चेतावनी दिए ।
‘लोकतन्त्रलाई खतरा छैन । खतरा भए जनताले जोगाउनेछन् । तर, विधि स्थापना गर्ने नाममा मूल्य–मान्यता तोड्दै गयौं भने देश संकटमा पर्छ,’ लामिछानेले भने ।
रास्वपालाई आन्दोलनबाट विस्थापित गर्न नसकिने भन्दै लामिछानेले आफूहरूलाई सत्ताबाट हटाउने एक मात्र लोकतान्त्रिक बाटो निर्वाचन भएको बताए ।
‘हामीलाई विस्थापित गर्ने कुरा आन्दोलनबाट हुँदैन, चुनावबाट मात्र सम्भव छ । लोकतन्त्रमा निर्वाचनको माध्यमबाट मात्र सत्ता विस्थापित हुन्छ,’ उनले भने ।
अर्को निर्वाचनमा जनताले रास्वपालाई पराजित गरे आफूहरू त्यसलाई स्वीकार गर्न तयार रहेको उनको भनाइ थियो ।
‘अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुहोस् । पाँच वर्षमा रास्वपाको सरकारले काम गर्न सकेन भने सबैभन्दा पहिले रास्वपाको सदस्यता च्यात्नुहोला,’ लामिछानेले भने ।
लामिछानेले विभिन्न संस्था तथा सुरक्षा निकायमाथि आरोप लगाउने काम नगर्न पनि आग्रह गरे । नेपाली सेनासमेत आरोपको घेरामा पारिएको भन्दै उनले त्यस्ता संस्थालाई आरोपित नगर्न आग्रह गरेका हुन् ।
सरकारको नियत सही रहेको दाबी गर्दै उनले सरकारले गरेका कुनै निर्णय गलत भए त्यसलाई सच्याउने प्रतिबद्धता जनाए ।
‘सरकारको नियत सही छ । कुनै निर्णय गलत भए त्यसलाई सच्याउँछौं,’ उनले भने ।
उनले लोकतन्त्रमाथि कुनै खतरा आउन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा देखिएको सहकार्यको वातावरणलाई रास्वपाले सम्मान गर्ने उनको भनाइ थियो ।
‘लोकतन्त्रमाथि कुनै खतरा हुन दिँदैनौं । सहकार्यको यो शृङ्खलालाई रास्वपाले शिरोधार्य गर्नेछ,’ लामिछानेले भने ।
लामिछानेले आफ्नो सम्बोधनको शरूआत समेत कांग्रेसको लोकप्रिय अभिवादन ‘जय नेपाल’ बाट गरे । तर उनले त्यसलाई पार्टीको अभिवादन नभई ‘देशवाला’ अभिवादनका रूपमा व्याख्या गरे ।
‘आज यो मञ्चको म एक्लो प्रतिपक्ष भएको छु, शायद एक्लो हुने बानी पनि छ मलाई,’ भन्दै उनले कांग्रेसको महाधिवेशनमा आफूलाई फरक राजनीतिक धारको प्रतिनिधिका रूपमा प्रस्तुत गरेका थिए ।
तराई–मधेश, पहिचान र अधिकारका विषयमा भाषण, नारा र घोषणापत्रमा धेरै कुरा आए पनि त्यसलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।
रविले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्।
