नेपालमा दशैं लागेको बेला भान्सा अत्यधिक महंगिएको छ। दशैंसँगै पछिल्लो एक वर्षमा दैनिक अत्यावश्यक खाद्यान्न तथा तरकारीमा उच्च मूल्यवृद्धि भएको सर्वसाधारणले बताइरहेका छन् ।
सर्बसाधारणलाई सदैब चाहिने दाल, चामल, चिनी, तेल, तरकारीदेखि फलफूलसम्मको मूल्य उच्च हुँदा न्यून, मध्यम र तल्लो वर्गका मानिस मारमा परेका छन्।
गत वर्ष २०८२ को चाडपर्वको सिजन सुरु हुनुअघिभन्दा यो वर्ष २०८३ को सोही अवधिमा खाद्यान्न तथा तरकारीमा दुई गुणाभन्दा बढी मूल्यवृद्धि भएको छ।
२०८२ असोज १ मा ३६ रुपैयाँ प्रतिकिलो रहेको सुकेको प्याज चालू वर्षको सोही अवधिमा ८९.५० रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ।
एक वर्षको अवधिमा प्याज प्रतिकिलो ५३.५ रुपैयाँ अर्थात् १४८.६१ प्रतिशतले महंगो भएको छ। त्यसो त प्याज मात्र नभई अन्य तरकारी तथा दैनिक आवश्यक खाद्यान्नको मूल्य पनि अचाक्ली बढेको छ।

यस्तो महंगीले न्यून मध्यम तथा तल्लो आय वर्गका परिवारलाई पार्ने अर्थ जानकार डा. चन्द्रमणि अधिकारीको भनाई छ ।
खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा परिवारको आम्दानीको ठूलो हिस्सा खानपिनमै खर्च हुने भएकाले शिक्षा, स्वास्थ्यलगायत अन्य आवश्यकतामा खर्च गर्ने क्षमता घट्ने उनको अनुमान छ । ।
वास्तवमा भन्ने हो भने नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मूल्यवृद्धिको तथ्यांक समग्र अर्थतन्त्रको औसतमा आधारित हुने भएकाले त्यसले खाद्य वस्तुको मूल्यवृद्धिबाट उपभोक्तामा परेको वास्तविक असरलाई पूर्ण रूपमा नदेखिएको हो कि भन्ने प्रश्न पनि खडा भएको छ ।
मध्यम तथा न्यून आय भएका परिवारले आफ्नो कुल खर्चको ठूलो हिस्सा खाद्य पदार्थ र दैनिक आवश्यकताका वस्तुमा खर्च गर्छन्। कतिपय परिवारको कुल खर्चको ५७ प्रतिशतभन्दा बढी हिस्सा खाद्य तथा दैनिक आवश्यक वस्तु र शिक्षाजस्ता क्षेत्रमा जाने भएकाले खाद्य वस्तुको मूल्यवृद्धिले उनीहरूको बजेटमा ठूलो दबाब सिर्जना गर्छ।
यसको तुलनामा उच्च आय भएका परिवारलाई खाद्य वस्तुको मूल्यवृद्धिको प्रभाव तुलनात्मक रूपमा कम पर्ने अर्का अर्थजानकार नवराज गौतमको भनाई छ ।
‘धनीमानीको कुल खर्चमा खाद्य पदार्थको हिस्सा २० प्रतिशत मात्रै हुन सक्छ। तर मध्यम वर्ग, न्यून मध्यम वर्ग र तल्लो वर्गको खर्चमा यसको हिस्सा धेरै हुन्छ’, उनले थपे।
वास्तवमा भन्ने हो भने चाडपर्वको समयमा हुने खाद्य वस्तुको मूल्यवृद्धिको असर झनै गहिरो हुन्छ।
दशैँजस्ता चाडपर्वमा मासु, प्याज, तरकारीलगायत खाद्यवस्तुको माग बढ्ने भए पनि मूल्य महँगो हुँदा उपभोक्ताले चाहेजति उपभोग गर्न सक्दैनन्।
चाडबाड आएपछि मान्छेले खसीको मासु खानै नसक्ने अवस्था आएको छ। त्यसैगरी प्याजको प्रयोग गर्न पनि नसक्ने अवस्था भएकाले समस्या व्यक्तिमा मात्र नभएर राष्ट्रमा समेत परेको प्रष्टै छ ।
लामो समयसम्म खाद्य तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि कायम रहेमा उपभोक्ताको क्रयशक्ति कमजोर हुँदै जाने र गरिबीको मात्रा समेत बढ्न सक्ने जोखिम हुने देखिएको छ
पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य लगातार बढ्दै जाँदा बजारमा मूल्यवृद्धिको शृंखला नै बनेको उपभोक्तावादी प्रेमलाल महर्जन बताउँछन्।
पछिल्लो समय एकपछि अर्को वस्तुको मूल्य बढ्ने क्रमले उपभोक्तालाई थप मारमा पारेको उनको दाबी छ ।
करिब ६ महिनायता बजारमा मूल्यवृद्धिको क्रम निरन्तर देखिएको हो ।
नयाँ सरकार गठनको सुरुवातदेखि नै ग्यासको अभाव देखिएको र त्यससँगै केही वस्तुमा कालोबजारीसमेत हुँदा सरकार मौन छ ।
यस्तो मूल्यवृद्धि सामान्य नभई अत्यधिक रूपमा भएको थियो। त्यसकारण पनि अहिले मूल्यवृद्धिको शृखला नै बनिरहेको छ।
बजारमा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको हो कि भन्ने प्रश्न नेपाली समाजमा उर्जिएको छ । किन कि बजार व्यवस्थापन कमजोर हुँदा तस्करी, कालोबजारी र बिचौलियाको प्रभाव नियन्त्रण गर्न सकिएको छैन।
दशैंको बेलामा व्यवसायीहरु पनि चामलको मूल्य बढ्नुमा धानको मूल्यवृद्धि, आयातमा उच्च निर्भरता र पुरानो धानको मौज्दात सकिँदै जानु प्रमुख कारण रहेको बताउँछन्।
नेपाल चामल, तेल, दाल उत्पादक संघका द्वितीय उपाध्यक्ष राहुल अग्रवाल एक वर्षअघिको मूल्यलाई आधार बनाएर अहिलेको चामलको मूल्य तुलना गर्नु व्यावहारिक नहुने बताउँछन्।
बजारमा माग–आपूर्ति र कच्चा पदार्थको मूल्यअनुसार चामलको मूल्य निर्धारण हुने भएकाले धानको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव चामलमा पर्ने देखिन्छ ।
तर चामलको मूल्यमा थप कमी आउने वा नआउने विषय भने नयाँ धान बजारमा भित्रिने समयसँग जोडिएको छ। वैशाखदेखि साउनसम्म अघिल्लो वर्षको धान भण्डारण गरेर चामल उत्पादन गर्नुपर्ने हुन्छ। त्यस अवधिमा पुरानो धानको मौज्दात क्रमश: घट्दै जाने भएकाले मूल्यमा दबाब पर्न सक्छ।
बाढीका कारण आपूर्ति प्रणाली प्रभावित हुँदा फलफूल तथा तरकारीको मूल्य प्रभावित भएको फलफूल तथा तरकारी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष खोमप्रसाद घिमिरेले बताए।
चीनबाट आयात हुने फलफूलको नियमित आपूर्ति प्रभावित भएपछि विशेषगरी स्याउको मूल्य गत वर्षको तुलनामा केही बढेको उनको भनाइ छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिएको निर्देशक अनिल किराँतीले जानकारी दिए।

