कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जीत

  • Clock icon
    २०८३ कार्तिक १२, बुधबार

कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेको उत्कृष्ट साझेदारीमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित दर्ता गरेको छ।

बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले हराउँदै जित हात पारेको हो। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। एनपिएलमा पोखराले अहिलेसम्म सुदूरपश्चिमलाई हराउन सकेको छैन।

पोखराले दिएको १ सय ४६ रनको लक्ष्य सुदूरपश्चिमले १६।५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशान ७४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले जितको आधार तयार पारेको थियो।

इशानले ३१ बलमा २ चौका र २ छक्का सहयोगमा ३७ रन बनाउँदा मेहदी हसनको बलमा एलबीडब्लु धरापमा परे।

कप्तान दीपेन्द्र ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा ५१ रनमा अविजित रहे।

जारी एनपिएलमा अर्धशतक पूरा गर्ने दीपेन्द्र दोस्रो र नेपाली पहिलो खेलाडी हुन्। यसअघि चितवनका डविड मलानले विराटनगरविरुद्ध अर्धशतक प्रहार गरेका थिए।

ओपनर विनोद भण्डारी पहिलो ओभरमा नै ४ रन बनाउँदा धनन्जय लक्षणको बलमा बोल्ड आउट भए।
अर्का ओपनर ब्रान्डोन म्याकमुलेनले १२ बलमा २ चौका र १ छक्का सहयोगमा २२ रन बनाउँदा सकिब अल हसनको बलमा एलबीडब्लु धरापमा परे।
पोखराका लागि धनन्जय, मेहदी र सकिबले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो।
पोखराका लागि ओपनर मेहदी हसनले २१ बलमा ४ चौका र १ छक्का सहयोगमा ३२ रन बनाउँदा अनिल खरेलको बलमा दीपेन्द्रको हातबाट क्याच आउट भए।
अर्का ओपनर दीनेश खरेल ४ रनमा हेमन्त धामीको बलमा विकेट किपर विनोद भण्डारीको हातबाट आउट भए।
कप्तान कुशल भुर्तेल २१ रनमा दीपेन्द्रको बलमा अनिलको हातबाट क्याच आउट हुदै पेभेलियन फर्के।
सकिब १४ रन बनाउँदा अनिल कै बलमा स्कट कुग्लेजिनको हातबाट क्याच आउट भए। सदीराले ८ रन थपे। धनन्जय लक्षण ११ रनमा रनआउट भए। किरण ठगुन्नाले १ रन बनाए।

अर्जुन घर्ती ४० र विपिन खत्री ५ रनमा अविजित रहे। अर्जुनले २५ बलमा ४ चौका र १ छक्का हाने।
सुदूरपश्चिमका लागि अनिलले ३ विकेट लिए। उनले ३ ओभरमा २३ रन दिए। स्कट कुग्लेजिन, हेमन्त धामी, अविनास बोहोरा र दीपेन्द्रको नाममा समान एक विकेट रह्यो।

एनपिएलमा बिहिबार २ खेल हुनेछन्। दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौ गोर्खाज खेल्नेछन्। सो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ।

जनकपुर पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित भएको थियो। काठमाडौले भने पहिलो खेल खेल्न लागेको हो।

दिनको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स खेल्ने तालिका छ। यो खेल साँझ ५ बजे सुरु हुनेछ। विराटनगर आफ्नो पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो।