निर्वाचन नतिजा स्वीकार्दै विपक्षीसँग मिलेर काम गर्ने ट्रम्पको भनाई

अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा केही रिपब्लिकन गढमा डेमोक्र्याटिक उम्मेदवारहरूको जितपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सलाई नयाँ प्रतिक्रिया दिएका छन्।

न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले मध्यावधि चुनावको नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार रहेको बताएका हुन्।

उनले विपक्षी दलसँग मिलेर काम गर्ने कुरा पनि गरेका छन्।

ट्रम्पले भनेका छन्, ‘हो, म नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार छु। हामी उनीहरू (विपक्षी) सँग काम गर्न तत्पर छौँ।’

ट्रम्पले थपे, ‘सायद हामी मिलेर कुनै बाटो फेला पार्न सक्छौँ।’

यसअघि ट्रुथ सोसलमा चुनावी परिणामबारे पहिलो पहिलो प्रतिक्रिया दिँदै चुनावमा आफू उम्मेदवार भएको भए भारी मतले जित्ने दाबी गरेका थिए।

ट्रम्पले लेखेका थिए, ‘म चुनावी मैदानमा छैन। मैले चुनाव लडेको भए हामीले भारी मतले जित्ने थियौँ।’

अर्थात् उनले हारको दोष रिपब्लिकन उम्मेदवारहरूलाई लगाउन खोजेका छन्।

धेरै रिपब्लिकन नेताहरू पहिले नै मध्यावधि चुनावमा ट्रम्पको अडानबाट असन्तुष्ट थिए।

प्रतिनिधि सभा र सिनेटमा नियन्त्रण गुमाउने सम्भावनाका साथ ट्रम्पले दिएको अभिव्यक्तिले रिपब्लिकन पार्टीभित्र विभाजन अझ बढाउन सक्ने आकलन गरिएको छ।

हाल संसद्‌का दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीले बहुमत छ।

यदि पार्टीले यीमध्ये एउटा मात्र सदनमा बहुमत गुमायो भने ट्रम्पलाई आफ्नो एजेन्डासँग सम्बन्धित कानुन पारित गराउन गाह्रो हुनेछ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको नियन्त्रण खोस्ने सम्भावना छ।

४३५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।