‘समृद्धि’ तेल ब्राण्डले ३ वर्षमै ८ अर्बभन्दा बढी कारोबारको रेकर्ड बनायो

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

नेपालको तेल उद्योगमा छोटो समयमै छुट्टै पहिचान बनाएको ‘समृद्धि’ ब्रान्डले **सिद्धिविनायक आयल्स प्रा.लि.**लाई उल्लेखनीय व्यापारिक सफलता दिलाएको छ।

स्थापना भएको सन् २०२१ अगस्ट २ देखि नवलपरासी पश्चिम, रामग्राममा प्रशोधन प्लान्टमार्फत संचालनमा आएको सिद्धिविनायकले खाना पकाउने तेल (सोयाबिन, पाम ओलेइन, सनफ्लावर) प्रशोधन तथा शुद्धीकरण गर्दै आएको छ। कम्पनीको कुल वार्षिक उत्पादन क्षमता ३८ हजार ६४० मेट्रिक टन रहेको छ।

कम्पनीले छोटो तीन वर्षमै ८ अर्ब ४० करोड ८० लाख रुपैयाँ बढीको कारोबार गरेको छ। यसमा पछिल्लो एकै वर्षको कारोबार ५ अर्ब नाघेको छ। चालु आर्थिक वर्षमा कम्पनीको व्यापार गत वर्षको तुलनामा ३.५७ गुणा वृद्धि भएको छ।

सिद्धिविनायकका अनुसार, गुणस्तर, प्याकेजिङ र बजार सञ्जालका कारण ग्राहकको विश्वास जित्न सफल भएको छ। भारत सरकारले सन् २०२४ मा कच्चा र प्रशोधित तेलमा भन्सार दर बढाएपछि नेपालबाट निर्यातमा वृद्धि भएको र यसले कम्पनीको व्यापार तथा नाफामा सकारात्मक प्रभाव पारेको छ।

चालु आर्थिक वर्षमा कम्पनीले ५ प्रतिशत नाफा कमाउन सफल भएको छ। सन् २०२४ मा प्रति मेट्रिक टन तेल १ लाख ५७ हजार २८८ रुपैयाँमा बिक्री भएकोमा, सन् २०२५ मा २ लाख ७ हजार ४२३ रुपैयाँ पुगेको छ।

सिद्धिविनायकले ३ अर्ब ९ करोड ६० लाख रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जा ३७ करोड ६३ लाख, र अल्पकालीन कर्जा २ अर्ब ७२ करोड रहेको छ।

कम्पनी गोयन्का ग्रुपअन्तर्गत सञ्चालित छ। अध्यक्ष गोपाल गोयन्काको नेतृत्वमा कम्पनीले छोटो समयमा घरेलु बजारमा सशक्त उपस्थिति बनाएको छ। यसले खाद्य सुरक्षा, रोजगारी, कर राजस्व र निर्यात प्रवर्द्धनमा पनि योगदान पुर्‍याएको छ।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार