आज एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसमी प्रणालीमा केही परिवर्तन देखिएको छ । मनसुन प्रणाली बाहिरिएसँगै खासै कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेकोमा आजबाट पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेको छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।