मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

  • Clock icon
    २०८२ कार्तिक २४, सोमबार

म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागले जनाएको छ ।

मलेसियाको समुद्री सुरक्षा विभागका अनुसार, उद्धार टोलीहरूले आइतबार पाँच महिला र एक बालिकासहित सातवटा शव फेला पारेका छन् । टोलीले अहिलेसम्म १३ जनालाई जीवितै उद्धार गरेको छ ।

म्यान्मारको बुथिडाउङबाट आप्रवासीहरूलाई लिएर हिँडेको डुंगामा करिब ३०० मानिस सवार थिए । दुर्घटना तीन दिनअघि भए पनि पीडितहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।

मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा चढाइएको र सीमानजिक पुगेपछि उनीहरूलाई साना–साना डुंगाहरूमा राखिएको पाइएको छ । प्रत्येक डुंगामा करिब १०० जना थिए । सुरक्षा र निगरानी अधिकारीहरूको आँखा छल्न यस्तो गरिएको बताइएको छ ।