रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री सर्वसाधारणका लागि खुला गर्दैछ। कम्पनीले पहिले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रि-अटलमेन्टमार्फत आईपीओ निष्काशन गरिसकेको थियो।
कम्पनीले कर्मचारीका लागि ५७,७९८ कित्ता शेयर सुरक्षित राख्दै बाँकी ९ लाख २४,७६८ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि प्रतिकित्ता आवेदन मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ।
बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा १३(१) अनुसार योग्य संस्थागत लगानीकर्ताहरुलाई बोलकबोल प्रणालीमार्फत बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा पुस ११ गतेसम्म बन्द हुनेछ। यदि उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।
