सिद्धार्थ बैंकले नेपाल सोसल बिजनेस (एनएसबी)सँग सहकार्य गर्ने

काठमाडौँ । सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलुमा आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोसल बिजनेस (एनएसबी)सँग सहकार्य गरेको छ ।

नेपाल सोसल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवद्र्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उल्लेख गरे ।

त्यसैगरी नेपाल सोसल बिजनेसका तर्फबाट निर्वाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोसल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमलाई सहयोग गरी समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्‍याएको बताए ।

यस्ता प्रभावमूलक उद्यमहरूको सशक्तिकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

प्रभावमुखी उद्यमीहरूलाई प्रवद्र्धन गर्दै उहाँहरूलाई विस्तार र सुदृढीकरण गर्न निरन्तर क्रियाशील रहँदै आएको नेपाल सोसल बिजनेसको पहल तथा उद्देश्यप्रति समर्थन जनाउँदै सिद्धार्थ बैंकले उद्देश्य–केन्द्रित उद्यमहरूको सशक्तिकरणमार्फत समग्र देशको आर्थिक विकासमा योगदान पुर्‍याउने जनाएको छ ।