पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा उपस्थित हुने भएका छन् ।
उक्त घटनाका सम्बन्धमा आफ्नो तर्फबाट जानकारी गराउन उनी सोमबार मध्यान्ह १२ बजे आयोगको कार्यालय सिंहदरबार जान लागेका हुन् ।
लेखकको सचिवालयका अनुसार सो संवेदनशील घटनाको पृष्ठभूमि र यथार्थ विवरणबारे आयोगले गरिरहेको अनुसन्धानमा सहयोग पुर्याउन उनी आयोगको कार्यालय जान लागेका हुन् ।
जाँचबुझ आयोगले सो समयमा गृह प्रशासनको नेतृत्व सम्हालेका लेखकसँग घटनाको वस्तुस्थितिबारे सोधपुछ गर्ने बताइएको छ । आयोगले यसअघि नै लेखकलाई बयानमा आउन पत्राचार गरेको थियो ।
यसैबीच, आयोगमा आफ्नो भनाइ राखेर फर्किएपछि लेखकले सोही विषय र पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन पत्रकार सम्मेलनको समेत आयोजना गरेका छन् ।
सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन तय गरिएको उनको सचिवालयले जनाएको छ ।
