राजनीतिक शक्ति निर्माणमा लागेकाहरूलाई एकताबद्ध हुन रास्वपा र उनेपाको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)ले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेकाहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

दुई पार्टीबीच आज भएको एकतासम्बन्धी सातबुँदे सहमति–पत्रमार्फत उनीहरूले वैकल्पिक शक्ति निर्माणको लागि एकताबद्ध हुन आह्वान गरेका हुन् ।

दुई पार्टीले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा समान विचार भएकाहरूलाई एकतामा आउन आह्वान गरेका छन् ।

सम्झौताको सातौं बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव निह्न ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।’

बलियो वैकल्पिक शक्ति निर्माणको प्रयासमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज उनेपासँग एकता गरेको हो । रास्वपा सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले तथा बालेन्द्र शाहले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

 

 

 

अनलाइनखबरबाट साभार