घाटा बीच नाफाको उज्यालो: ३४ देशमा नेपाली व्यापारको जित

नेपालको वैदेशिक व्यापारको समग्र चित्र हेर्दा ठूलो व्यापार घाटाले निराशा देखाए पनि त्यसैभित्र आशा र सम्भावनाका उज्याला संकेतहरू पनि देखिन थालेका छन्। आयातमा अत्यधिक निर्भर अर्थतन्त्रका बीच नेपालले विश्वका ३४ वटा मुलुकसँग भने व्यापार घाटा होइन, प्रत्यक्ष नाफा गर्न सफल भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो छ महिना (साउन–पुस)को आयात–निर्यात तथ्यांकअनुसार नेपालको कुल व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ पुगेको छ। भारत र चीनसँगको ठूलो व्यापार घाटाका कारण समग्र तथ्यांक निराशाजनक देखिए पनि, यही अवधिमा ३४ देशसँग भने नेपालले व्यापार नाफा आर्जन गरेको छ।

विभागका अनुसार ती ३४ मुलुकबाट नेपालले जम्मा ३७ करोड ९४ लाख ५० हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दा, सोही देशहरूमा १ अर्ब ५ करोड ८५ लाख १७ हजार रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ। यसरी नेपालले कुल ६७ करोड ९० लाख ६७ हजार रुपैयाँ बराबरको व्यापार नाफा कमाएको छ।

सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग भएको छ, जहाँ नेपालले ४१ करोड ८६ लाख ८१ हजार रुपैयाँ बराबरको नाफा गरेको छ। सबैभन्दा कम नाफा भने पापुआ न्यू गिनीमा १ लाख ३ हजार रुपैयाँ बराबरको रहेको छ।

नेपालले ९ वटा देशसँग १ करोड रुपैयाँभन्दा बढीको व्यापार नाफा गरेको छ। ती देशहरूमा रोमानिया (५ करोड ९१ लाख ४९ हजार), स्वीडेन (३ करोड ३१ लाख ८० हजार), नाइजेरिया (१ करोड ७३ लाख ४३ हजार), इराक (१ करोड ७१ लाख ३० हजार), नर्वे (१ करोड ६८ लाख ९० हजार), अमेरिकी सामोआ (१ करोड ६५ लाख ४० हजार), आइसल्याण्ड (१ करोड २५ लाख १६ हजार) र सेशेल्स (१ करोड ११ लाख ६० हजार रुपैयाँ) रहेका छन्।

यस्तै, १४ वटा देशसँग नेपालको व्यापार नाफा १० लाख रुपैयाँभन्दा बढी रहेको छ भने ११ वटा देशसँग १० लाख रुपैयाँभन्दा कम नाफा देखिएको छ।

यी मुलुकहरूमा नेपालबाट मुख्य रूपमा चिया, हस्तकलाका सामग्री, गलैँचा, ऊनी कपडा, तयारी पोसाक तथा पाल्तु जनावरका खाना निर्यात हुने गरेका छन्। विशेषगरी युरोपेली बजारमा नेपाली हस्तकला र गलैँचाको माग उच्च रहेको छ। कतिपय देशमा नेपालले कुनै वस्तु आयात नगरी पूर्ण रूपमा निर्यात मात्रै गरेर करोडौँ रुपैयाँ आम्दानी गरिरहेको तथ्यांकले देखाएको छ।

विशेषज्ञहरूका अनुसार यी तथ्यांकहरूले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहिचान र प्रतिस्पर्धात्मक क्षमता बढ्दै गएको संकेत गर्छन्। उचित नीतिगत सहजीकरण, उत्पादन वृद्धि र बजार विस्तार गर्न सके वैदेशिक व्यापारमा देखिएको घाटालाई क्रमशः घटाउँदै लैजान सकिने सम्भावना रहेको उनीहरूको भनाइ छ।