कालिन्चोक हाइड्रोको आईपीओ अवसर फागुन १३ देखि

  • Clock icon
    २०८२ फाल्गुन १, शुक्रबार

काठमाडाैं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आगामी फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। यी सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत दोलखा जिल्लाका बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूले यस आईपीओमा आवेदन दिन सक्नेछन्।

यस्तै, सर्वसाधारणका लागि छुट्याइने सेयरमध्ये १० प्रतिशत अर्थात ८२ लाख ५० हजार रुपैयाँ बराबरको ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरू योग्य हुनेछन्।

आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि सेयर निष्काशन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गते बन्द हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन अवधि छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते तोकिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १, शुक्रबार