एनआरएनएमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्छ : मदनराज पौडेल

  • Clock icon
    २०८२ फाल्गुन ३०, शनिबार

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार मदनराज पौडेलले संस्थामा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्ने बताएका छन् ।

पौडेलले एनआरएनएको संरचनामा युवाहरूको प्रतिनिधित्व अपेक्षाकृत कम रहेको उल्लेख गर्दै विभिन्न तह र पदमा युवाहरूको सहभागिता बढाउन आवश्यक रहेको बताए । उनले विधानमै कम्तीमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘विभिन्न तहका कार्यसमितिमा युवाहरूको सहभागिता हुनुपर्ने अनुपातमा देखिँदैन। त्यसैले विधानमै ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवाज उठाइरहेको छु,’उनले भने ।

पौडेलले आफ्नो उम्मेदवारीप्रति विभिन्न देशमा रहेका युवा नेपालीहरू उत्साहित रहेको दाबी गर्दै युवाहरूको सामूहिक चाहना र आग्रहका आधारमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।

एनआरएनएको आगामी २०२५–२०२७ कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पौडेलले ‘सहयात्रा दोस्रो पुस्तासँग’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा रहेको पनि बताए ।

‘धेरै युवा साथीहरूले ‘तपाईं हाम्रो प्रतिनिधित्व गर्नुस्’ भनेर आग्रह गरेकाले विश्वभर रहेका युवाहरूको भावनालाई सम्मान सम्मान स्वरुप अगाडि बढेको धारणा राखे ।

उनका अनुसार एनआरएनए अहिले इतिहासकै संवेदनशील मोडमा रहेको छ । उनले संस्थाभित्र विगत केही समयदेखि देखिएका विवाद, असहमति र समस्यालाई समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउने आवश्यकता औंल्याए ।

‘लामो समयदेखि विभिन्न असहमतिहरू र विवाद देखिएका छन् । यो महाधिवेशनले एकताको सन्देश दिँदै नयाँ नेतृत्वमार्फत संस्थालाई सकारात्मक दिशामा अघि बढाउनेछ भन्ने विश्वास छ,’उनले भने ।

उनका अनुसार आगामी १२औँ महाधिवेशनले एनआरएनएलाई नयाँ दिशा दिने र संस्थाभित्र देखिएका समस्याहरू समाधान गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पौडेलका अनुसार एनआरएनए विश्वभर रहेका करिब ८० लाख नेपालीहरूको साझा संस्था हो । प्रवासमा बसोबास गर्ने नेपाली समुदायको हित, अधिकार र पहिचानका लागि स्थापना भएको यस संस्थाले अब विदेशमा जन्मिएका दोस्रो पुस्ताका नेपाली युवाहरूलाई नेपालसँग जोड्ने अभियानलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।

उनले विदेशमा जन्मिएका १५ देखि २५ वर्ष उमेर समूहका हजारौँ नेपाली युवाहरूलाई नेपालको भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्न आवश्यक रहेको बताए ।

‘विदेशमा जन्मिएका दोस्रो पुस्ताका भाइबहिनीहरूलाई नेपालको माटो, भाषा र संस्कृतिसँग जोड्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने, ‘यदि म निर्वाचित भएँ भने दोस्रो पुस्ताका युवाहरूको डाटाबेस तयार गरी उनीहरूलाई एनआरएन अभियान र नेपालको विकाससँग जोड्ने कार्यक्रम अघि बढाउनेछु ।’

उनका अनुसार हाल विश्वका विभिन्न देशमा रहेका नेपाली युवाहरू स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, बैंकिङ, अनुसन्धान तथा विभिन्न पेशागत क्षेत्रमा उल्लेखनीय रूपमा सक्रिय छन् । ती युवाहरूको सीप, ज्ञान र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकाससँग जोड्न सके देशले ठूलो लाभ लिन सक्ने उनको विश्वास छ ।

पौडेलले एनआरएनएले नेपाल सरकारसँग सहकार्य गर्दै प्रवासमा रहेका नेपालीहरूको अनुभव, सीप र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण बनाउनुपर्ने पनि बताए ।

नेपालमा पछिल्लो समय युवाहरूको राजनीतिक तथा नीतिनिर्माण तहमा बढ्दो सहभागिताले एनआरएनएमा पनि नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता देखिएको उनले बताए ।

विश्वभर रहेका एनआरएनए प्रतिनिधि, अभियन्ता तथा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पौडेलले आफूलाई समर्थन गर्न अपिल गरेका छन् । उनले आफू निर्वाचित भएमा संस्थाभित्र एकताको सन्देश दिँदै युवाहरूको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरामा जन्मिएका पौडेलले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् । सन् २०१५ देखि अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका उनले एनआरएनए अष्ट्रेलियामा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी अन्तर्राष्ट्रिय समन्वय परिषद्–आईसीसका सदस्यका रूपमा सक्रिय छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि संलग्न रहँदै आएका पौडेलले प्रवासमा रहेका नेपाली युवाहरूलाई संगठित गर्दै संस्थालाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले दोस्रो पुस्तालाई नेपालसँग जोड्ने अभियानलाई संस्थागत रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

  • Clock icon
    २०८२ फाल्गुन ३०, शनिबार