सहमतिद्धारा एनआरएनए अध्यक्ष हेमराज शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनले हेमराज शर्मालाई अध्यक्ष चयन गर्ने भएको छ ।

हिजो शनिबारबाट काठमाडौंमा जारी महाधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने सहमति भएको एनआरएनए सदस्य रमिला कार्कीले जानकारी दिइन् ।

विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलगअलग कार्यसमिति बनेका थिए ।

विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका गैरआवासीय नेपालीहरूका दुई संस्थाबीच गत मंसिर दोस्रो साता एक भएर अघि बढ्ने सहमति भएको थियो ।

केसी र श्रेष्ठबीचका दुई संस्थाबीच एकताको लागि पटकपटक प्रयास भएका भए पनि सफल हुन सकेको थिएन ।

गत मंसिरमा भएको सहमतिसँगै दुई कार्यसमिति एकीकरण भएपछि दुवै अध्यक्षको पद कायम गरी महाधिवेशन गरिएको हो ।

महाधिवेशनले दुवै पक्षबाट ५० ५० प्रतिशतका दरले पदाधिकारी र कार्यसमिति चयन गर्ने सहमति भएको ती पदाधिकारीले बताए ।

सहमति अनुसार, एक अध्यक्ष र दुई महासचिवको पद रहने छ ।

उपाध्यक्ष र अन्य पदाधिकारीको संरचना कस्तो रहने भन्नेबारे अझै सहमति भइसकेको छैन ।

हालसम्म उपाध्यक्षमा श्रेष्ठ समूहबाट बुद्धिसागर सुवेदी, मनोज गोर्खाली, लोक दाहाल तथा केसी समूहबाट रोविन शेरचन र रोजिना प्रधान राईको नाममा सहमति भइसकेको उनले बताईन् ।

हाल दुई युवा उपाध्यक्षसहित आठ जना उपाध्यक्षको पद रहेकोमा यो थपिन पनि सक्ने छ ।

महासचिव पदमा केसी समूहबाट डा. चिरञ्जिवि खड्काको नाम तय भइसकेको तर श्रेष्ठ समूहको नाममा सहमति जुट्न बाँकी छ ।

यसअघि अध्यक्ष पदमा शर्मासहित रोविन शेरचन र रविन बज्राचार्यले दाबी गरेका थिए ।

यसअघि नै शेरचन र शर्माबीच सहमति भइसकेकोमा आइतबार शर्मालाई समर्थन गर्दै बज्रचार्यले पनि उम्मेदवारी फिर्ता लिए ।

संघको पदाधिकारीको संख्या बढाउँदा विधान संशोधन गर्नुपर्ने हुन्छ । पदाधिकारीको संख्या र नाममा सहमति भइसकेपछि महाधिवेशनबाट विधान संशोधन पारित गरिने छ ।

संशोधित विधान परराष्ट्र मन्त्रालयको स्वीकृति पछि मात्रै लागू हुन्छ ।

‘विधान संशोधन भएर आएपछि केही घण्टामै स्वीकृति दिने आश्वासन मन्त्रालयबाट प्राप्त भएकोले भोली ‘सोमबारसम्म विधान संशोधन र कार्यसमिति चयनहुनेछ ।