काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ठूलो परिमाणमा पैसा खिच्ने अभियानलाई तीव्र बनाएको छ। यही क्रममा केन्द्रीय बैंकले शुक्रबार एकैदिन १ खर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत बजारबाट प्रशोचन गर्ने भएको छ।
हाल वित्तीय प्रणालीमा १ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी खुद अधिक तरलता रहेको छ भने बैंकहरूसँग करिब १२ खर्ब २५ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ।
बैंकिङ क्षेत्रको अवस्था अनुसार कुल निक्षेप ७८ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५८ खर्ब ६७ अर्ब रुपैयाँमा सीमित छ। कर्जा–निक्षेप अनुपात (CD Ratio) ७३.९१ प्रतिशत रहेको छ, जुन नियामकीय सीमा ९० प्रतिशतभन्दा कम हो।
निक्षेपको ब्याजदर पनि घट्दो क्रममा छ। वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.४० प्रतिशत र साधारण बचतको ३.१८ प्रतिशतमा झरेको छ।
तरलता बढ्नुका प्रमुख कारणहरूमा कमजोर कर्जा माग, रेमिट्यान्स आप्रवाहमा वृद्धि तथा सरकारी भुक्तानीका कारण बैंकिङ प्रणालीमा रकम थपिनु प्रमुख रहेका छन्।
यस अवस्थालाई अर्थविद्हरूले ‘तरलता पासो’ को संकेतका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार ब्याजदर ऐतिहासिक रूपमा न्यून भए पनि कर्जा माग नबढ्नुले अर्थतन्त्रको गति सुस्त रहेको देखाउँछ, जसमा मौद्रिक नीतिभन्दा सरकारी खर्च विस्तार आवश्यक हुने बताइन्छ।
राष्ट्र बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल आह्वान गरेको छ। न्यूनतम १० करोड रुपैयाँदेखि भाग जाने गरी बैंकहरूले सहभागी हुन सक्नेछन्। यस उपकरणको साँवा र ब्याज जेठ अन्तिम साता भुक्तानी गरिनेछ।
ब्याजदर घटेसँगै मुद्दती निक्षेपप्रति बचतकर्ताको आकर्षण पनि घट्दै गएको छ। पछिल्लो एक वर्षमा कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा करिब १० प्रतिशत बिन्दुले घटेको देखिएको छ।
चालु आर्थिक वर्षको आठ महिनामा ४ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थपिए पनि कर्जा विस्तार २ खर्ब ४३ अर्ब रुपैयाँमा सीमित रहेको छ। यसले वार्षिक कर्जा विस्तार लक्ष्य हासिल गर्न चुनौती थपिएको छ।
