काठमाडौँ । इरानमा जारी युद्धका कारण विश्वभर तनाव बढिरहेको अवस्थामा उत्तर कोरियाले आइतबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै आफ्नो सैन्य क्षमता पुनः प्रदर्शन गरेको छ। यसलाई यस महिनाको चौथो तथा यस वर्षको सातौँ मिसाइल परीक्षणका रूपमा लिइएको छ।
दक्षिण कोरिया र अमेरिकासँग सम्भावित वार्ताका चर्चा भइरहेका बेला उत्तर कोरियाले लगातार आफ्नो सैन्य गतिविधि तीव्र बनाएको देखिएको छ। विज्ञहरूका अनुसार प्योङयाङले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बार्गेनिङ शक्ति मजबुत बनाउन र आत्मरक्षात्मक क्षमताको प्रदर्शन गर्न यस्तो कदम चालेको हो।
दक्षिण कोरियाका पूर्व राष्ट्रपतीय सुरक्षा सल्लाहकार किम की–जुङका अनुसार यी मिसाइल परीक्षणहरू आत्मरक्षा क्षमता देखाउने प्रयास मात्र नभई अमेरिका र दक्षिण कोरियासँगको संवादअघि दबाब सिर्जना गर्ने रणनीति पनि हुन सक्छ।
दक्षिण कोरियाली सेनाका अनुसार आइतबार बिहान करिब ६:१० बजे उत्तर कोरियाको पूर्वी तटस्थित सिनपो शहर नजिकबाट प्रक्षेपण गरिएका मिसाइलहरूले करिब १४० किलोमिटर दूरी तय गरेका थिए। जापान सरकारले ती मिसाइलहरू आफ्नो विशेष आर्थिक क्षेत्रभित्र नपरेको पुष्टि गरेको छ।
यस घटनापछि दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले आपतकालीन सुरक्षा बैठक बोलाउँदै प्रक्षेपणलाई संयुक्त राष्ट्रसंघका प्रस्तावहरूको उल्लङ्घन र उत्तेजक कार्यका रूपमा व्याख्या गरेको छ। साथै, उत्तर कोरियालाई यस्ता गतिविधि रोक्न आग्रह गरिएको छ।
सिनपो क्षेत्रमा पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक मिसाइल परीक्षणसम्बन्धी संरचना रहेको बताइन्छ। उत्तर कोरियाले यसअघि पनि विभिन्न समय पनडुब्बी मिसाइल परीक्षण गर्दै आएको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले उत्तर कोरियाको परमाणु क्षमतामा उल्लेखनीय प्रगति भएको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्। उनका अनुसार सम्भावित रूपमा नयाँ युरेनियम संवर्द्धन केन्द्रसमेत थपिएको हुन सक्छ।
यता उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको परमाणु शक्ति अपरिवर्तनीय रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका लागि आत्मरक्षात्मक परमाणु क्षमताको विस्तार आवश्यक रहेको बताएका छन्।
यद्यपि, अमेरिका, दक्षिण कोरिया र अन्य देशहरूबीच सम्भावित संवादका संकेतहरू देखिए पनि हालसम्म कुनै औपचारिक वार्ता तय भएको छैन। पछिल्ला घटनाक्रमले कूटनीतिक प्रयासलाई पुनः सक्रिय बनाउन सक्ने अपेक्षा गरिएको छ।
