काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो आम्दानी र नाफामा ठूलो फड्को मारेको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले सावर्जनिक गरेको वित्तीय वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी एक वर्षको अवधिमा झण्डै १ अर्ब २० करोड रुपैयाँले बढेको छ । आम्दानीसँगै कम्पनीको सञ्चालन नाफाको दरमा पनि लोभलाग्दो सुधार देखिएको छ । आर्थिक वर्ष २०८० मा ७ प्रतिशत र २०८१ मा ९ प्रतिशत रहेको यो दर २०८२ मा बढेर १९ प्रतिशत पुगेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०२८÷८३ को पहिलो ६ महिनाको प्रारम्भिक तथ्याङ्कले यो दर ३० प्रतिशत पुग्ने संकेत गरेको छ, जसले कम्पनीको व्यावसायिक दक्षता बढ्दै गएको देखाउँछ ।
सिराहाको गोलबजारमा उद्योग रहेको मारुती सिमेन्टले हालै आफ्नो उत्पादन क्षमतामा ठूलो वृद्धि गरेको छ । सन् २०२५ जुनमा सम्पन्न पछिल्लो क्षमता विस्तारपछि कम्पनीले अहिले प्रतिदिन ३,३०० टन क्लिंकर र ४,००० टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । सन् २००८ मा ५०० टन सिमेन्ट उत्पादनबाट सुरु भएको यो उद्योग अहिले नेपालकै ठूला सिमेन्ट उद्योगमध्ये एक बनेको छ ।
कम्पनीको वित्तीय अवस्था बलियो बन्दै जाँदा ऋण भुक्तानी गर्ने क्षमतामा पनि उल्लेख्य सुधार आएको छ । सन् २०२४ मा ४.८४ गुणा रहेको यस्तो क्षमता सन् २०२५ मा बढेर ९.२२ गुणा पुगेको छ । यसले कम्पनीले आफ्नो ऋणको ब्याज सजिलै तिर्न सक्ने मजबुत स्थितिमा रहेको पुष्टि गर्छ ।
सन् १९९४ मा स्थापना भएको मारुती सिमेन्ट राठी र गोयल समूहद्वारा प्रवद्र्धित उद्योग हो । कम्पनीले मारुती ब्रान्ड नाममा ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । आफ्नै खानीको चुनढुङ्गा र उच्च प्रविधिको प्रयोगका कारण मारुती सिमेन्ट नेपाली निर्माण बजारमा लोकप्रिय मानिन्छ ।
ऋण व्यवस्थापन र आईपीओको योजना
हाल कम्पनीको ऋण र पुँजीको अनुपात ०.६४ गुणा मात्र छ, जुन वित्तीय रूपमा स्वस्थ मानिन्छ । क्षमता विस्तारका लागि थप ऋण लिए पनि कम्पनीले साधारण शेयर निष्कासन गरी संकलित रकमबाट ऋण भुक्तानी गर्ने योजना बनाएको छ । आईपीओपछि कम्पनीको वित्तीय भार अझै कम हुने देखिन्छ ।
विद्युत् महसुल विवाद र चुनौती
व्यावसायिक प्रगतिसँगै कम्पनीले केही चुनौतीको पनि सामना गरिरहेको छ । मारुती सिमेन्टको झण्डै ५७ करोड ५० लाख रुपैयाँ बराबरको पुरानो विद्युत् महसुल विवाद कायमै छ । यो रकम भुक्तानी गर्नुपर्ने अवस्था आएमा कम्पनीको नाफामा असर पर्न सक्ने देखिएको इक्रा नेपालको प्रतिबेदनले उल्लेख गरेको छ ।
