कीर्तिपुरस्थित क्रिकेट रंगशाला अब खाली हुँदै

त्रिभुवन विश्वविद्यालयले आफनो हाताभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ।

त्रिविले नेपाल क्रिकेट संघ, क्यानलाई पत्र पठाएर ३५ दिनभित्र रंगशाला खाली गर्न भनेको हो। त्रिविले आफू मातहतका अतिक्रमित जग्गा फिर्ता ल्याउन गत वैशाख ४ गते ३५ दिनको सूचना निकालेको थियो। सोही अन्तर्गत १८ वटा संस्थालाई जग्गा फिर्ता गर्न पत्र काटेको छ।
१८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएकोमा क्रिकेट रगंशाला पनि परेको त्रिवि सामान्य प्रशासन महाशाखाले जनाएको छ ।

‘त्रिवि-क्यान सम्झौता यही वैशाख अन्तिममा सकिँदै छ। त्रिविले क्यानसँग सम्झौता नगर्ने र जमिन फिर्ता गर्न पत्र पठाएको हो ।

जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार मिचिएका जग्गा त्रिविअन्तर्गत ल्याउन १८ वटा संस्थालाई पत्र पठाएको छ ।

गत असोज २६ गते तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक गरेको ‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१’ ले ठूलो मात्रामा त्रिविको जग्गा मिचिएको देखाएको थियो।

प्रतिवेदनले त्रिवि पदाधिकारी र कर्मचारीको मिलेमतोमा दुई हजारभन्दा बढी रोपनी जग्गा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले हड्पेको खुलासा गरेको थियो।

त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरस्थित झन्डै एक हजार पाँच सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, करिब ८४३ रोपनी १० आना ६ पैसा १ दाम जग्गा सरकारी निकाय र विभिन्न गैरसरकारी संघसंस्थाले उपयोग गर्दै आएका छन्।

प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको जमिन अपचलन शृंखला शैक्षिक माफियाको दादागिरीमा चलेको उल्लेख गरिएको छ। प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालय र यस अन्तगर्तका निकायहरूको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति केही व्यक्ति, कम्पनी, सघ संस्था वा निकायहरूले विश्वविद्यालयको ऐन, नियम तथा प्रचलित कानून विपरीत अनधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गरिरहेको औँल्याइएको छ।