हवाई यात्रामा नयाँ समायोजनको संकेत

काठमाडौँ । सस्तो हवाई भाडाका लागि परिचित अमेरिकी विमान कम्पनी स्पिरिट एयरलाइन्सले आफ्नो सम्पूर्ण व्यवसायिक उडान र सेवा स्थायी रूपमा बन्द गरेको छ । वित्तीय संकटमा फसेको कम्पनीले मे २, २०२६ देखि सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

अमेरिकाको आठौँ ठूलो विमान कम्पनी मानिने स्पिरिट एयरलाइन्स बन्द भएपछि हजारौँ यात्रुहरू प्रभावित भएका छन् । कम्पनीले सबै उडान रद्द गर्नुका साथै ग्राहक सेवा समेत बन्द गरेको जनाएको छ । ३४ वर्षदेखि ‘अल्ट्रा–लो–कस्ट’ मोडेलमार्फत सेवा दिँदै आएको कम्पनीले उद्योगमा योगदान गरेको भन्दै आफ्नो सेवा अन्त्यको घोषणा गरेको हो ।

कम्पनीले यात्रुहरूलाई विमानस्थल नजान र अन्य एयरलाइन्समार्फत यात्रा पुनः बुक गर्न आग्रह गरेको छ । क्रेडिट वा डेबिट कार्डबाट टिकट खरिद गरेका यात्रुहरूलाई स्वचालित रूपमा रकम फिर्ता गरिने बताइएको छ भने ट्राभल एजेन्टमार्फत बुकिङ गर्नेहरूले सम्बन्धित एजेन्टसँग सम्पर्क गर्नुपर्नेछ ।

भाउचर वा ‘फ्री स्पिरिट पोइन्ट्स’ प्रयोग गरेर टिकट लिएका यात्रुहरूको फिर्ता प्रक्रिया भने अदालतको निर्णयपछि मात्र स्पष्ट हुने कम्पनीले जनाएको छ ।

कम्पनी बन्द हुनुको मुख्य कारण पछिल्लो समय इन्धन मूल्यमा आएको तीव्र वृद्धि र त्यसले निम्त्याएको आर्थिक दबाब रहेको बताइएको छ । अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा देखिएको असरका कारण जेट इन्धनको मूल्य बढेपछि कम्पनी थप संकटमा परेको हो ।

सन् २०२५ अगस्टमा दोस्रो पटक टाट पल्टिएको घोषणा गरेको कम्पनीले उद्धार प्याकेजका लागि प्रयास गरे पनि आवश्यक सहमति जुट्न नसकेपछि अन्ततः सेवा बन्द गर्ने निर्णय गरेको हो ।

स्पिरिट एयरलाइन्स बन्द भएपछि करिब १४ हजार स्थायी कर्मचारी र ३ हजार ठेक्कामा कार्यरत कामदार गरी करिब १७ हजार जनाको रोजगारी प्रभावित भएको छ । यसमा पाइलट र उडान परिचारिका ठूलो संख्यामा रहेका छन् ।

यस घटनाले अमेरिकी हवाई बजारमा समेत असर पर्ने देखिएको छ । सस्तो भाडा दिने प्रमुख कम्पनी नै बजारबाट हटेपछि हवाई भाडा बढ्ने अनुमान गरिएको छ । मे महिनाका लागि मात्र कम्पनीका करिब ९ हजार उडान रद्द हुँदा १८ लाख सिट क्षमतामा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ ।

यात्रुहरूलाई सहज बनाउन अन्य एयरलाइन्सहरूले सीमित दरमा सिट उपलब्ध गराउने घोषणा गरेका छन् । केही एयरलाइन्सले अस्थायी रूपमा छुट तथा मूल्य स्थिरता कायम गर्ने सहमति जनाएका छन् ।

मजदुर युनियनहरूले भने यस निर्णयलाई दुखद भन्दै कामदारहरूको रोजगारी, स्वास्थ्य बीमा र आर्थिक सुरक्षाका लागि सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।

यो घटना अमेरिकामा पछिल्ला दुई दशकयताकै ठूलो एयरलाइन्स बन्दमध्ये एक मानिएको छ, जसले वैश्विक हवाई उद्योगमा नयाँ बहस सिर्जना गरेको छ ।