काठमाडौं । नेपालको डिजिटल क्षेत्र तीव्र रूपमा विकसित हुँदै गएको सन्दर्भमा साइबर सुरक्षाप्रति बढ्दो चासोलाई सम्बोधन गर्न हेराल्ड कलेज काठमाडौंको एथिकल एचके कम्युनिटीले राष्ट्रिय स्तरको साइबर सुरक्षा कार्यक्रम ‘ह्याकास्ट्रा २०२६’ आयोजना गर्ने घोषणा गरेको छ।
यो कार्यक्रमलाई विद्यार्थी, प्रविधि उत्साही तथा साइबर सुरक्षा क्षेत्रमा कार्यरत पेशेवरहरूका लागि आफ्नो सीप परीक्षण गर्ने, नयाँ ज्ञान हासिल गर्ने र उद्योगका विज्ञहरूसँग सञ्जाल विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको छ।
कार्यक्रमअन्तर्गत मुख्य आकर्षणका रूपमा राष्ट्रिय स्तरको क्याप्चर द फ्ल्याग (सीटीएफ) प्रतियोगिता रहनेछ। यस प्रतियोगितामा सहभागीहरूले वेब एक्सप्लोइटेसन, क्रिप्टोग्राफी, डिजिटल फोरेन्सिक्स, रिभर्स इन्जिनियरिङ तथा ओएसइन्ट जस्ता विभिन्न साइबर सुरक्षा चुनौतीहरूको सामना गर्नुपर्नेछ।
त्यस्तै, कार्यक्रममा उद्योग विज्ञहरूद्वारा प्राविधिक सत्र तथा प्यानल छलफल पनि आयोजना गरिनेछ, जहाँ डिजिटल सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) सुरक्षा र आधुनिक साइबर खतराका विषयमा विस्तृत छलफल हुने बताइएको छ।
ह्याकास्ट्रा २०२६ लाई प्रतिस्पर्धामात्र नभई सिकाइ र अनुभवको समग्र प्लेटफर्मका रूपमा विकास गरिएको आयोजकहरूले जनाएका छन्। यसले नेपालका युवा प्रतिभा र पेशेवरहरूलाई एकै स्थानमा ल्याएर सहकार्य र नेटवर्किङको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम हेराल्ड कलेज काठमाडौंमा आयोजना हुनेछ, जसमा अनलाइन छनोट चरणपछि अन्तिम चरण प्रत्यक्ष रूपमा सञ्चालन गरिनेछ। आयोजकका अनुसार यो कार्यक्रमले विद्यार्थी र साइबर सुरक्षा उद्योगबीचको दूरी घटाउँदै व्यावसायिक मार्ग खोल्ने लक्ष्य राखेको छ।
आयोजक संस्थाले ह्याकास्ट्रा २०२६ लाई नेपालको साइबर सुरक्षा क्षेत्रमा महत्वपूर्ण माइलस्टोनका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ। सहभागीहरूलाई आफ्नो क्षमता परीक्षण गर्दै भविष्यका डिजिटल चुनौतीहरू सामना गर्न तयार रहन आग्रह गरिएको छ।
