पछिल्लो समय काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम अघि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको त्रिवि क्रिकेट मैदानको करिब ४ महिनादेखि काम भइरहेको हो । यसका साथै आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ छुटाइएको छ ।
अहिले प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ । निर्माण कम्पनीका अनुसार प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको देखिन्छ ।
अहिले ४३ करोड ७७ लाखको ठेक्कामा बीकेओआई–केसीडीसी–बीजी जेभीले १० हजार सिट क्षमताको प्यारापिट निर्माणको काम गरिरहेको छ भने ४२ करोड १९ लाख ९१ हजारको ठेक्कामा विशन–ईश्वरी जेभीले फ्लडलाई जडानको काम गरिरहेको छ ।
गत वैशाख २४ गतेभित्र यसको निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि विविध कारणले केही लम्बिएको छ ।
गत फागुनमा २०८२ वैशाख २४ गतेभित्र त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्डलाइड जडानको काम सम्पन्न गर्नेगरी सम्झौता भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
वैशाख २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माणमा भइरहेको ढिलाइबारे सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिनुभएको थियो ।
निर्माण कम्पनीले सरकारलाई विभिन्न कारण देखाउँदै दुई महिना म्याद थपको लागि आग्रह गरेको थियो । थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्ने कम्पनीको प्रतिवद्धतापछि म्याद थप गरिएको थियो ।
सरकारले थप गरेको समयभित्रै प्यारापिटको काम सम्पन्न गर्ने बीकेओआई–केसीडीसी–बीजीजेभीले जनाएको छ ।
सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम निरन्तर निरीक्षण गरिरहेको छ । सरकारले निर्माण कम्पनीलाई दिएको समयभित्रै काम सम्पन्न गराउने लक्ष्य जिम्मा लिएको कम्पनीले उल्लेख गरेको छ ।
२०७९ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैतमा फ्लडलाइट जडान गर्न निर्देशन दिएपनि काम अगाडि बढ्न सकेन ।
करिब दुई वर्षपछि गत(२०८१)असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ३०० दिनमा प्यारापिट र फ्लडलाइटलगायत आवश्यक संरचना बनाउने पहिलो निर्णय गरेको थियो ।
आर्थिक वर्ष ०७९र८० को बजेटमा कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको प्रक्रियाअघि बढाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमा मैदान स्तरोन्नतिका लागि १० करोड र फ्लडलाइट जडानका लागि १० करोड छुटाएको थियो ।
त्यस्तै, चालू आर्थिक वर्ष ०८१-८२ को बजेटमा पनि त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।